ePurwa

बिर्तामोड-भद्रपुर सडक बनाउन ढिलाइ गर्ने ठेकेदार कम्पनीलाई कारबाही


बिहिवार, पौष २१, २०७९

बिर्तामोड । सम्झौताअनुसार निर्माणको काम नगरेको भन्दै बिर्तामोड-भद्रपुर सडक निर्माणको ठेकेदार कम्पनीलाई सडक डिभिजन दमकले कारबाही गरेको छ । सम्झौताअनुसार ७ महिनामात्र बाँकी रहँदा ठेकेदार कम्पनीले ३० प्रतिशत पनि सडक निर्माण नगरेको भन्दै सडक डिभिजनले ठेकेदार कम्पनीलाई काम नगर्नुको लिखित स्पष्टीकरण माग गरेर पहिलो चरणको कारबाही गरेको हो ।

बिर्तामोड-भद्रपुर सडकअन्तर्गत गरामनी–भद्रपुर खण्डको ८ दशमलब ४१ किलोमिटर सडक निर्माणको ठेक्का काठमाडौंको एमएस कन्टेक प्रालिले लिएको छ । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले आगामी साउन ५ अर्थाथ ३० महिनामा काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । ठेक्का लिएको २३ महिना बितिसके पनि ठेकेदार कम्पनीले सडक निर्माणको काम करिब २५ प्रतिशतमात्रै सम्पन्न गरेको छ ।

सडक निर्माणमा ढिलाइ गरेको भन्दै सडक डिभिजन दमकले १५ दिने सूचना जारी गरी ठेकेदार कम्पनीसँग निर्माणको काममा ढिलाइ हुनुको लिखित जवाफ माग गरेको हो ।

‘३० महिनामा सक्नुपर्ने काम २३ महिना बितिसक्यो । अहिलेसम्म कामको प्रगति २५ प्रतिशतमात्रै छ । काम किन नगरेको भनेर हामीले पटकपटक सोधीखोजी गरेका छौं । सम्झौताअनुसार काम सक्नुपर्ने भन्दै काम गर्न पटकपटक आग्रहसमेत गर्‍यौं । तर, बेवास्ता गरेपछि हामीले पहिलो चरणको कारबाही स्वरुप लिखित स्पष्टीकरण मागेका छौं । स्पष्टीकरण चित्तबुझ्दो भएन भने कानुनअनुसार थप कारबाही गर्नसमेत हामी तयारी अवस्थामा छौं‚’ सडक डिभिजन दमकका प्रमुख सुरेश पौडेलले भने ।

बिर्तामोड-भद्रपुर सडक जिल्लाका प्रशासनिक कार्यालयहरू रहेको चन्द्रगढी जाने मुख्य सडक हो । दैनिक सयौंको संख्यामा सवारीसाधन सञ्चालन हुने उक्त सडक भत्किएर खाल्डैखाल्डामा परिणत भएको छ । उक्त सडक भ्याटसहित ५८ करोड २ लाख २८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन दमकका लेखा अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिए ।

निर्माण कम्पनीको तर्फबाट खटिएका साइट इन्जिनियर हरिश थापाले भने प्राविधिक कठिनाइका कारण काममा ढिलाइ भएको बताए । उनले सडकमा आवश्यक पर्ने माटो नपाएकाले काम ढिला हुन पुगेको बताए । उनले माटोका लागि भद्रपुरमा जग्गा खरिद गरिसकेकाले अब निर्माणको कामले तीव्रता पाउने विश्वास दिलाए ।

‘आगामी साउनसम्म सबै काम त सकिँदैन । तर, कम्तीमा साढे ५ किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाउने तयारीमा छौं’ उनले भने । उनले सडक डिभिजन कार्यालयले सूचना जारी गरेर स्पष्टीकरण सोध्ने काममा हतार गरेको टिप्पणी गरे । इकान्तिपुरबाट

सम्बन्धित खबर