ePurwa

हिमालयन शेर्पासँग आर्मी निराशहिमालयन शेर्पासँग आर्मी निराश


बुधवार, पौष २७, २०७९

झुरझुरे । प्रतियोगिताको बलियो दावेदार टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै हिमालयन शेर्पा क्लब यहाँ जारी पाँचौं बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार फापरबारी स्थित जनता माविको खेलमैदानमा भएको खेलमा शेर्पाले आर्मीलाई टाईब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको २१औं मिनटमा नवयुग श्रेष्ठको पेनाल्टी गोलबाट अग्रता बनाएको आर्मीले त्यसलाई दोस्रो हाफमा गुमाउन पुग्यो । उता शेर्पाका लागि ६१औं मिनटमा प्रिन्सले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । टाईब्रेकरमा भने शेर्पाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा शेर्पाका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष २७ गतेको बुधबारको खेल मच्छिन्द्र फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो माघ ३ गतेका दिन हुनेछ ।

सम्बन्धित खबर