दोहा। साउदी अरबमा अवैध बसोबास गर्दै आएका थप ११८ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। रियाद र दमामबाट गरी ११८ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो।
साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने दूतावासले जनाएको छ। केही आवेदकहरूको एक्जिट भिसा लागेको केही समय भइसकेकाले दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएका हुरूब लागेका व्यक्तिहरूले अनिवार्य रूपमा अबको ७ दिन भित्रै साउदी छोडी सक्न पनि दूतावासले अनुरोध गरेको छ।
आफ्नो एक्जिट भिसाको म्याद हेर्न र तोकिएको समयमै साउदी छोड्न दूतावासले भनेको छ। थप जानकारीका लागि दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ।