ePurwa

आजदेखि इलाम-काठमाडौँ हवाइ उडान हुँदै


आइतवार, माघ १, २०७९

इलाम । नेपाल एयरलाइन्सले आजदेखि इलाम-काठमाडौँ उडान सुरु गर्ने भएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ ।

एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन हुने भएको हो । इलाम नगरपालिका ९ मा रहेको यस फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गतवर्ष इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर केही उडान गरेको थियो । तर, सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको छ ।

विमानबाट इलाम-काठमाडौँ करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ । आज काठमाडौँबाट उडान गर्ने तालिका रहेको छ । इलामबाट काठमाडौँका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगर प्रमुख केदार थापाले बताए। उनले उडानसँगै इलाममा पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा लिएको जानकारी दिए ।

इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज सञ्चालन हुनेछ । इलामबाट काठमाडौँको एकतर्फी भाडा छ हजार तीन सय तोकिएको छ । काठमाडौँबाट इलामका लागि भने एकतर्फी भाडा छ हजार पाँच सय तोकिएको छ ।

तर, ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ । यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तलाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ ।

पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ । यस विमानस्थलमा छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको छ ।

सम्बन्धित खबर