ePurwa

अर्जुनधारा जेसीजको पद हस्तान्तरण, भवनलाई पूर्णता दिने प्रतिवद्धता


आइतवार, माघ १, २०७९

शनिश्चरे । अर्जुनधारा जेसीज सन् २०२३ का नवनिर्वाचित अध्यक्ष प्रेमकुमार खड्काले निर्माणाधीन जेसीज भवनलाई पूर्णता दिने प्रतिवद्धता जनाएका छन् । शनिबार राति अबेर सम्पन्न पद हस्तान्तरण कार्यक्रममा उनले प्रतिवद्धता जनाएका हुन् ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्षको मन्तव्य राख्दै खड्काले हजार सपनामध्ये एउटा पूरा भएकोमा खुसी व्यक्त गरे । उनले स्थानीय सरकारसँग हातेमालो गर्दै सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्य रहेको सुनाए ।

अध्यक्ष खड्कालाई सन् २०२२ का अध्यक्ष राजु कुँवरलगायत पूर्वअध्यक्षहरुले चाँदीको चेन पहिर्याएका थिए भने सपथ ग्रहण गराइएको थियो । नवनिर्वाचित अध्यक्ष खड्काले आफ्ना पदाधिकारी, सदस्य तथा विभागीय प्रमुखलाई सपथ ग्रहण गराएका थिए ।

सन् २०२३ का लागि अध्यक्ष खड्कासहित अर्जुनधारा जेसीजको कार्यकारी उपाध्यक्षद्वयमा बरुण माझी र बालगोपाल गौतम, चार उपाध्यक्षमा सुमन ओली, मनोज सिटौला, फणिन्द्र डाँगी र गौरव भण्डारी रहेका छन् ।

यस्तै, महासचिवमा वेदनारायण गोदार थापा, सचिवमा सागर घिमिरे, सहसचिवमा भीम बराल, कानुनी सल्लाहकारमा प्रजित थापा, कोषाध्यक्षमा बसन्त बुढाथोकी, जनसम्पर्क अधिकारीमा सोना गेलाल, तालिम संयोजकमा विमला भट्टराई र प्रकरण निर्देशकमा गजेन्द्र खनाल रहेका छन् ।

कार्यक्रममा पत्रकारिता पुरस्कारबाट तुलसीप्रसाद निरौलालाई पुरस्कृत गरिएको थियो भने शनिअर्जुन उद्योग वाणिज्य संघको विभिन्न पदमा निर्वाचित जेसीजका पूर्वअध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्बन्धित खबर