बिर्तामोड । कम्बोडियामा आगलागीमा परि ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज राति नेपाल आइपुग्ने भएको छ ।
कम्बोडियाको पोइपेट सहरमा स्थित ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी झापा बिर्तामोडका निराकार पाण्डेको मृत्यु भएको थियो ।
निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्याण्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदैछ । शव शुक्रबार राति १०ः३० बजे काठमाडौं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको नेकपा (एमाले)का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए । नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको छ ।
शव नेपाल ल्याउन लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णयसमेत भएको छ । सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो । शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्याण्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ । दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ ।