ePurwa

२४ दिनपछि घर आइपुग्यो निराकारको शव, आज अन्तिम दाहसंस्कार


शनिवार, माघ ७, २०७९

बिर्तामोड । कम्बोडिया आगलागीमा परेर ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज शनिबार मध्यान्ह घर आइपुगेको छ ।

कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल (क्यासिनो) मा गत पुस १४ गते बिहान शुक्रबार राति आगलागी हुँदा पाण्डेको ज्यान गएको थियो । उनको शव हिजो शुक्रबार राति नेपाल आइपुगेको थियो ।

No description available.

उनको पार्थिव शरीरको अन्तिम संस्कारका लागि बिर्तामोडको अतिथि सदनस्थित पाण्डे निवासअगाडि एक हजारभन्दा बढी मानिसको उपस्थिति रहेको छ । कनकाई माईमा दाहसंस्कारका लागि उनको शवयात्रा सुरु (१२ः५० बजे) भएको छ ।

होटलमा आगलागी हुँदा १२ औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।  कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर, शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइएको हो ।

निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्यान्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइएको हो ।  निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई यसअघि नै निर्देशन दिएका थिए ।

शव नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निर्णयसमेत भएको थियो । सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याइएको हो ।  शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरेको थियो । दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ ।

सम्बन्धित खबर