ePurwa

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा


शनिवार, जेठ १३, २०८०

विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, ¥याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । प्रशासनले प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेधित क्षेत्र तोकेको छ ।

आदेशको उल्लंघन गरिए कारबाही हुनेतर्फ पनि प्रशासनले सचेत गराएको छ । आइतबारदेखि कोशी प्रदेशको प्रदेश सभाको बैठक बस्दैछ । पहिचानवादीको आन्दोलनले उक्त बैठक बिथल्ने भएकोले प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्।