ePurwa

विराटनगरमा विहानैदेखि तनाव, १३ एल भि फोर्सका कार्यकर्ता पक्राउ


आइतवार, जेठ १४, २०८०

विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले आज बिहानै विराटनगरबाट पक्राउ गरेको छ ।

विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा थिए ।

गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरुले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।

सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।

सम्बन्धित खबर