ePurwa

बिर्तामोड नगर अस्पताल जाने सडकमा स्थानीयले रोपे धान


मङ्गलवार, असार २६, २०८०

बिर्तामोड । झापाको बिर्तामोड—३ स्थित नगर अस्पताल जाने रंगशाला उन्नती मार्गको सडकमा स्थानीयले धान रोपेका छन् । ठेकेदारको लापरवाहीका कारण सडक अलपत्र परेर हिलाम्मै भएपछि स्थानीयले विरोधस्वरुप डोमालाल राजवंशी रंगशाल अघिको सडकमै धान रोपेका हुन् ।

कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि अलपत्र बनेको सडकमा आवतजावतका लागि निकै समस्या भएको छ । सेवाग्राही, स्वास्थ्यकर्मी र स्थानीयहरुलाई सो बाटो भएर हिड्न कठिन भएको छ । मानिसहरु बीच बाटोबाट हिड्न नसकी प्लमबाट हिड्नुपर्ने बाध्यता छ । सडक अलपत्र पारेर छोड्दा सडक छेउको खाल्डोमा बालबालिका डुब्ने खतरा बढेको छ । विद्यार्थी र अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सास्ती भएकोले विरोधस्वरुप सडकमा धान रोप्नुपरेको स्थानीय छायाँ कडरियाले बताइन् ।

४७१ मिटर लम्बाई र ८ मिटर चौडाई कालोपत्रे र प्लम निर्माण गर्नका लागि ओमसाई निर्माण सेवाका प्रोप्राइटर हिमाल सिटौलाले ८२ लाख ८३ हजार ३४६ रुपैयाँमा ठेक्का लिएका थिए । फागुन १५ गते ठेक्का संझौता गरेका सिटौलाले असार ५ मा काम सक्नुपर्ने म्याद रहेको थियो । उनले पाएको म्याद सकिए पनि निर्माण कार्य सम्पन्न नहुँदा सडक हिलाम्मै बनेको हो ।

म्याद सकिँदासम्म ठेकेदारले प्लमको काम मात्र मुश्किलले सकेका छन् । कालोपत्रे गर्नुअघि ग्राभेलसम्म गर्न नसक्दा सडक पुरै हिलाम्मे भएको छ । मानिसहरु त्यस बाटोबाट हिड्न नसकी अन्यतिरबाट घुमेर अस्पताल जाने गरेका छन् । काममा निकै ढिलासुस्ती गरेपछि बिर्तामोड नगरपालिकाले ठेकेदार सिटौलालाई २ पटक लिखित चेतावनी दिएको थियो । तर, उनले अटेर गरेको बिर्तामोड वडा नम्बर ३ का वडासदस्य हरि बास्कोटाले बताए ।

नगर अस्पतालजस्तो संवेदनशील ठाउँमा जाने बाटो अलपत्र पारेर छोड्नु गलत भएको भन्दै स्थानीयले ठेकेदारले सो सडकको निर्माणमा सुरुवातदेखि नै वेवास्ता गर्ने गरेको बताए । निर्माण कम्पनीले उक्त क्षेत्रमा आयोजना बोर्ड समेत राखेको छैन भने उपभोक्ता समिती समेत गठन गरिएको छैन । यस विषयमा ठेकेदार सिटौलासँग बुझ्न खोज्दा उनको फोन उठेन ।