ePurwa

बर्खा स्मृति अन्तरपालिका क्रिकेट : बाह्रदशीलाई ७२ रनले हराउँदै कनकाई विजयी


बुधवार, फागुन २, २०८०

बुद्धशान्ति । कनकाई नगरपालिकाले झापाको बुद्धशान्तिमा सुरु प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा बाह्रदशी गाउँपालिकालाई ७२ रनको विशाल अन्तरले हराउँदै कनकाई विजयी भएको हो । टस जितेर बलिङ रोजेको बाह्रदशीले २० ओभरमा ६ विकेट लिँदै कनकाईलाई १८१ रन दिएको थियो ।

कनकाईका लागि आयुष न्यौपानेले २३ बलमा ४५ रन जोडे भने शौरभ बिमलीले २० बल खेल्दै ४४ रन जोडेका थिए । बाह्रदशीका रोहन कार्कीले ४ ओभर बलिङ गर्दै ४६ रन दिएर ३ विकेट लिए ।

त्यस्तै, जवाफी ब्याटिङ गरेको बाह्रदशीका इर्साद आलमले २९ बलमा ३४ रन जोडे भने जाहिद आलमले २७ बलमा ३३ रन जोडेका थिए ।

कनकाईका कुशल न्यौपानेले ४ ओभर बलिङ गर्दै १४ रन दिँदै ४ विकेट लिए भने आयुष न्यौपानेले ४ ओभर बलिङ गर्दै १२ रन दिएर १ विकेट लिए ।

१८२ रनको लक्ष्य पछ्याएको बाह्रदशीले २० ओभर खेल्दै १०९ मात्र जोड्न सक्यो । खेलको प्लेयर अफ दि म्याच कनकाईका आयुष न्यौपाने भए । उनलाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं र आयोजक बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले नगद २ हजार र ट्रफी प्रदान गरे ।

झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष प्रसाईंले बताए ।

खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।