ePurwa

फाइनलका लागि झापा ११ चर्च ब्वाइजसँग भिड्दै


शनिवार, फागुन २६, २०८०

बिर्तामोड, फागुन २६ । छैटौँ झापा गोल्ड कपअन्तर्गत आज फाइनल प्रवेशका लागि घरेलु टोली झापा ११ ले लिग लिडर चर्च ब्वाइज युनाइटेडको सामना गर्दैछ ।

झापा गोल्ड कपमा पहिलोपटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेडले क्वार्टर फाइनलमा न्यु रोड टिम फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

झापा ११ ले भने एन्फा मकवानपुरलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । झापा ११ यसअघि पाँचपटकको उपविजेता टोली हो । २ विदेशी खेलाडीसहित नवयुवा खेलाडीले भरिएको झापा ११ उपाधि रक्षा गर्ने लक्ष्यका साथ खेलिरहेको छ ।

लिग लिडर चर्च ब्वाइज र झापाली युवा खेलाडी समेटिएको झापा ११ पछिल्लो समय लयमा रहेकोले खेल रोमाञ्चक हुनेछ आशा गरिएको छ । झापा ११ लाई यो सिजनको झापा गोल्ड कपमा उपाधि दाबेदारका रुपमा हेरिएको छ ।

प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुनेछ । प्रतियोगितामा ए डिभिजन क्लबसहित नेपालका १० टिमको सहभागिता रहेको छ । फाइनल खेलको विजेताले नगद १३ लाखसहित ट्रफी र उपविजेताले नगद ७ लाख पाउनेछ ।