ePurwa

दमक बजारका भित्री सडक बनिनसक्दै भत्किए, नगरपालिकाद्वारा ध्यानाकर्षण


आइतवार, साउन २७, २०८१

दमक । निर्माणको काम सम्पन्न नहुँदै भत्किन थालेपछि झापाको दमक नगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन विभागको ध्यानकर्षण गराएको छ ।

दमकका बजार क्षेत्रभित्रका विभिन्न स्थानहरुमा भूमिगत ढल निकास तथा सडक कालोपत्रे आयोजना सञ्चालनको क्रममा लापरबाही भएको दमक नगरपालिकाले जनाएको छ ।

विभाग र निर्माण व्यवसायी एससी स्वामीनारायण आशीर्वाद जेभीले निर्माण सम्झौता अवधि सकिएको लामो समय बित्दा पनि काम पूरा गरेको छैन । सो कारणले यातायातसहित दैनिक जनजीवनमा समेत प्रत्यक्ष असर पुगेको भन्दै नगरपालिकाले ध्यानाकर्षण गराएको हो ।

कैयौँ पटक सम्बन्धित निर्माण व्यवसायीलाई पत्राचार गरिएको र विभागमा तथा मन्त्रालयमा समेत यसको बोधार्थ गराइएको प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बताए ।

दमक(६ हनुमान मन्दिरअगाडि उक्त आयोजनाअन्तर्गत गरिएको कालोपत्रे बाटोमै ठुलो भ्वाङ परेको, दमक(१ स्थित डि टाउन होटल अगाडिको बाटोमा खाल्डाखुल्डी परिसकेको पनि उल्लेख छ ।

नागरिकहरुको धेरै चाप रहने दमक(६ स्थित सब्जीबजार, व्यापारिक तथा यातायातका दृष्टिकोणले अति महत्वपूर्ण दमक(७ स्थित पशुहाटदेखि उत्तरको सडक तथा दमक(८ का विभिन्न सडकहरु साविकमा कालोपत्रे भएको सडक खनेर पुनः कालोपत्रे नगर्दा बर्खामा पानी जम्ने समस्या रहेको ध्यानकर्षणमा उल्लेख छ ।

सम्बन्धित खबर