ePurwa

दमकबाट पेस्तोलसहित गजमेर पक्राउ


सोमवार, साउन २८, २०८१

बिर्तामोड। झापा प्रहरीले दमकबाट पेस्तोलसहित एकजना युवालाई नियन्त्रणमा लिएको छ । आज बिहान ०३ः५५ बजे दमक ५ वानेश्वर हाइट मार्ग जाने भित्री सडक खण्डमा विशेष सूचनाको आधारमा खानतलासी गर्दा दमक ८ बस्ने ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरीले को। ३८ प ५६४९ नम्बरको स्कुटरलाई रोकेर जाँच गर्ने क्रममा स्कुटरको अगाडि चाबी लगाउने भागको तल सामान राख्ने खाली भागमा लुकाइछिपाई राखेको पेस्तोल भेटिएको थियो ।

दाहिने भागमा ७६५७ राउन्ड नम्बर ०२ र बायाँ भागमा स्पेशल मेड इन इटली अटोम्सियल लेखिएको खैरो रङको कभरसहितको पेस्तोल भेटिएको प्रहरीले जनाएको छ ।

गजमेरले लगाएको पेन्टको पछाडिको गोजीबाट नम्बर ०२ लेखिएको म्याग्जिन दुईथान पनि भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जनाएका छन् ।