ePurwa

बेइजिङमा नेपाल संस्कृति प्रवर्द्धन केन्द्र


सोमवार, साउन २८, २०८१

बेइजिङ । नेपालको उत्तरी छिमेकी मुलुक चीनको राजधानी बेइजिङमा नेपाल संस्कृति प्रवर्द्धन केन्द्रको उद्घाटन भएको छ।  अगष्ट ८ तारिख बिहीबार बेइजिङमा उक्त केन्द्र उद्घाटन भएको हो।

नेपाल संस्कृति प्रवर्द्धन केन्द्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनमा नेपालको समग्र पक्षलाई प्रचारप्रसार कार्यलाई थप टेवा पुग्ने गरी नेपाल संस्कृति प्रवर्द्धन केन्द्र स्थापना हुनु गौरवको कुरा भएको बताए।

आफूले बेइजिङमा सार्वजनिक स्थलमै देवनागरी लिपिमा नेपाल चीन नेपाल सांस्कृतिक आदानप्रदान केन्द्र लेखेको बोर्ड देख्दा सुरूमा अचम्म लागेको भन्दै नेपाल र नेपालीलाई धेरै माया गर्ने चिनियाँहरूको प्रयासको उनले मुक्तकण्ठले प्रशंसा गरे।

चीनमा नेपालको प्रचार गर्दै नेपालका विभिन्न निकायसँग सहकार्य गर्ने र नेपालमा पर्यटन तथा लगानी वृद्धि गर्ने उद्देश्य राखिएको चीन नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली पोले बताए।

उनले लुम्बिनी बौद्ध विश्वविद्यालय र टोखा नगरपालिकासँग विभिन्न क्षेत्रमा सहकार्य गर्ने सहमति भएको जानकारी पनि गराए।

चिनियाँ र नेपाली कलालाई संयुक्त रूपमा विकास गरेर मानवीय भाइचारा र शान्तिका लागि काम गर्ने भन्दै उनले चिनियाँ पोष्टर ‘फू’ भित्र पिपलको पातमा बुद्धको प्रतिमा र तलपट्टि बुद्धको आशीर्वाद लेखिएको पोष्टलाई धातुमा बनाएर लुम्बिनी विश्वविद्यालयलाई प्रदान गर्ने घोषणा पनि गरे।

चिनियाँ पोष्टर ‘फू’ चिनियाँ संस्कृतिमा शुभ र शान्ति प्रदान गर्ने परम्परागत चित्र हो जसलाई चिनियाँले ढोकामा टाँस्ने गर्दछन्। यही फूको माथिल्लो भागमा पिपलको पातभित्र बुद्धको प्रतिमा र वरिपरि १०८ वटा स्वस्तिक चिह्न राखेर दुई देशको प्रतिनिधित्व झल्किने कलामिश्रण बनाएको ली पोले बताए।

कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको पनि उपस्थिति थियो। कार्यक्रममा सहभागीलाई नेपाली दूध चिया दिएर स्वागत गरिएको थियो भने नेपाली नृत्य पनि प्रदर्शन गरिएको थियो।

नेपाललाई माया गर्ने केही चिनियाँले सात वर्ष पहिले बेइजिङको तेस्रो चक्रपथको पश्चिमी भागमा चीन नेपाल सांस्कृतिक आदानप्रदान केन्द्र स्थापना गरेका थिए।

उक्त केन्द्रमा नेपालका कलाकृतिहरू सङ्कलन गरिएको छ। नेपाली थाङ्का, बाजागाजा, पोशाक, गरगहना, प्राकृतिक दृश्यावलीका पोष्टर, सांस्कृतिक पहिचानका वस्तुहरु जसाएर राखिएको उक्त केन्द्रले बेइजिङ नगरपालिकासँग मिलेर अरनिकोले निर्माण गरेको श्वेत चैत्यमा हरेक वर्ष महोत्सवको आयोजना पनि गर्दै आएको छ।

यही केन्द्रले दुई वर्ष अगाडि सगरमाथा संस्कृति होटल पनि सञ्चालनमा ल्याएको छ। होटलका हरेक कोठामा नेपाली कला र सौन्दर्य झल्किने फोटो राखेर नेपालको पर्यटन प्रवर्द्धनको कार्य पनि गरिएको छ।

सम्बन्धित खबर