ePurwa

इलाममा बढ्यो तरकारीको मूल्य


शुक्रवार, साउन ३२, २०८१

इलाम । इलाम आफैं पनि तरकारी उत्पादन हुने जिल्ला हो । इलाममा उत्पादित तरकारी दिनहुँ झापाका बजारमा निकासी हुने गरेको छ ।

झापाका चारआली, बिर्तामोड, दमकमा इलामको तरकारी पुग्नेगरेको छ । तर, यतिबेला इलाममै तरकारीको मूल्य आकाशिएको छ ।

अहिले गोलभेंडा प्रतिकिलो ८०, प्याज प्रतिकिलो एक सय, भिन्डी प्रतिकिलो एक सय २०, बैगुन प्रतिकिलो एक सय २०, बन्दागोपी प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । अकबरे प्रतिकिलो चार सय रुपैयाँमा खरिद–बिक्री भइरहेको छ ।

आइतबार लाग्ने इलाम सदरमुकामको हाटमा समेत तरकारीको मूल्य बढेको पाइएको छ । सदरमुकाममै तरकारी व्यापार गरिरहेकी लक्ष्मी खत्रीले प्याज र गोलभेंडाको मूल्य बढेको बताइन् । ‘गोलभेंडा प्रतिकिलो ७०–८० रुपैयाँ रहेकामा सय रुपैयाँ भएको छ,’ खत्रीले भनिन्, ‘प्याज त अस्ति प्रतिकिलो एक सय २० पुगेको थियो, केही दिनयता घटेर एक सय भएको छ, अब बढ्ने सम्भावना छ ।’

आफैंले उत्पादन गरेको अकबरे बिक्री गर्न इलाम बजार आएकी इलाम नगरपालिकाकी दीपा पोख्रेल प्रतिकिलो चार सय रुपैयाँले अकबरे बिक्री गरेको बताउँछिन् । ‘यो वर्ष सुरुमै अकबरेको मूल्य राम्रो छ ।

राम्रो फलेको पनि छ,’ पोख्रेलले भनिन्, ‘बिक्री गर्दा चाहिँ मूल्य राम्रै हो तर अरू तरकारी चाहिँ सधैंको तुलनामा निकै महँङ्गो भएको छ ।’
गोलभेंडा उत्पादनको सिजन सकिन लागेकाले पनि मूल्य बढेको व्यापारी बताउँछन् । जिल्लाका धेरै किसानले बेमौसमी तरकारीका रूपमा टनेलभित्र खेती गरेको र हिउँदमा भन्दा वर्षायाममा उत्पादन कम हुने कारण तरकारी महँङ्गो भएको अनुमान छ ।

तरकारीको मूल्य बढेपछि सदरमुकामसहित जिल्लाका बजार क्षेत्र र विद्यालय, कलेज पढ्न डेरा बस्ने विद्यार्थीलाई भने समस्या पर्नेगरेको छ । ‘घरबाट तरकारी ल्याउन धेरै टाढा छ, यहाँ किनेर खान पनि महँङ्गो छ, कोठा भाडा र तरकारी किन्न निकै मुस्किल छ,’ ताप्लेजुङ्गबाट आएर इलाम डेरा गरिबस्ने विद्यार्थी सावित्रा पौड्यालले भनिन्, ‘तरकारीको मूल्य बढेपछि विद्यार्थी समस्यामा छन् ।’

इलाममा उत्पादन हुने इस्कुस र काँक्राको पनि मुख्य सिजन यही हो । बजारमा कांँक्रा प्रतिगोटा ६० देखि एक सय रुपैयाँसम्म पर्नेगरेको छ । इस्कुस पनि प्रतिकिलो २० रुपैयाँ पर्नेगरेको छ । इलाममा कति तरकारी उत्पादन हुन्छ र दैनिक कति टन तरकारी निकासी हुन्छ भन्ने यकिन तथ्यांक भने पाइँदैन ।  पालिका पेज बाट