तीर्थराज खरेल । लोकप्रिय मतमा दोस्रो र संघीय संसदमा पहिलो दलको रूपमा स्थापित नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा आफ्नो यात्रामा छ । यतिबेला सरकारको बागडोरबाट बाहिरिनुपर्दा नेपाली कांग्रेस केही खङ्ग्रिएको र मुर्झाएको अवस्थामा छ । इतिहासलाई फर्केर हेर्ने हो भने २००७ सालमा एक सय चार वर्षे राणाशासनको अन्त्यपछि मुलुकले प्रजातन्त्रको पारिलो घाम महशुस गर्न पाउने अपेक्षा थियो । तर, विशेषतः प्रमुख आन्दोलनकारी शक्ति नेपाली कांग्रेस र दरबारिया शक्तिको बीचमा भएको शक्तिसंघर्षले मुलुक आक्रान्त भयो । २००७ सालदेखि मुलुक संक्रमणबाट गुज्रिनुपरेको थियो ।
तत्कालीन राजा महेन्द्रले सैनिक ‘कू’ गरी दुई तिहाइ जनादेश प्राप्त प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको सरकार विघटन गरियो । त्यसकै खरानीको जगमा उभ्याइएको दलविहीन पञ्चायतले २०४६ सालको चैत्रसम्म एकछत्र शासन ग¥यो । एसियाली मापदण्डमा पु¥याउने, गाउँ फर्कने लगायतका मीठा नाराले पनि पञ्चायतलाई बचाउन सकेन । त्यो ३० वर्षे अवधिलाई छोडेर भन्ने हो भने बाँकी अवधि नेपाली कांग्रेस नेपालमा सत्तामै आसिन रहेको छ । तर, आश्चर्यको कुरा नेपाली कांग्रेस सत्ताबाट बाहिर हुँदा आफूलाई सजिलो महशुस गर्दैन र ओइल्याउने गर्छ । आधुनिक नेपालको इतिहासमा पटक–पटकका आन्दोलन र संघर्षमा आफ्नो अलग र विशिष्ट भूमिका बनाएको नेपाली कांग्रेसको मनोविज्ञानका अनेक पाटाहरू छन् र नेपाली कांग्रेस आफैं पार्टीहरूको समुच्च रूप प्रतीत हुन्छ ।
पटक–पटक बिग्रह र विभाजनबाट गुज्रिनु परेको तीतो इतिहास बोकेको नेपाली कांग्रेस आन्तरिक लोकतन्त्रको अभ्यासमा कमजोर छ । नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको अगुवाइ गरेको र लामो संसदीय अभ्यास गरेको इतिहास छ । कांग्रेसले यतिबेला अल्पकालीन दृष्टिकोण होइन, सुझबुझपूर्ण दूरदृष्टि लिन आवश्यक छ । समय र सन्दर्भ अनुसार मुलुकका सामु देखापरेका समस्या सम्बन्धमा गम्भीरता लिन नसकेमा नेपाली कांग्रेसको उपादेयता क्रमशः धुमिल हुँदै जान्छ । मुलुकका प्रमुख दुई पार्टीमा आएका बिखराव र विखण्डनले मुलुकको समग्र शक्ति सन्तुलनमा असर पुग्छ र राज्य नै असफलतातर्फ जान सक्छ ।
नेपाली कांग्रेस आन्तरिक कारणले सबैभन्दा बढी आहत भएको छ । पार्टीभित्रका हरेक गुटले आफ्नो मात्र स्वार्थलाई केन्द्रमा राखेर चल्दा आजको समस्या आएको हो । पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरेर अघि बढेको भए समस्या जटिल बन्दैनथे । कांग्रेसको मुख्य चिन्ताको विषय हो यो । गगन थापा र विश्वप्रकाश शर्मा जस्ता प्रखर युवा महामन्त्री पाएको नेपाली कांग्रेस आजको अवस्थामा किन पुग्यो भनेर गम्भीर आत्मसमीक्षा गर्न आवश्यक छ ।
कांग्रेसले सात वटै प्रदेश र केन्द्रमा समन्वयात्मक रुपमा नेतृत्व निर्माण नगरेर पार्टीभित्रको चरम गुटबन्दीको दबाबमा एक पक्षीय संगठन निर्माण भएका कारण आजका परिणाम देखा परेका हुन् भन्नेमा धेरै कांग्रेसीजनको मत छ । साँच्चै भन्ने हो भने नेपाली कांग्रेसले अहिलेकै बाटोलाई आत्मसात गरिरहने हो भने पार्टी र मुलुकमा त्यसको दीर्घकालीन प्रभाव पर्दछ । नेका यतिबेला इतिहासकै गुटउपगुटको झमेलाबाट गुज्रिरहेको छ । यसले पार्टीलाई बलियो बनाउँछ भनेर भन्न सकिँदैन । विगत तीन दशकदेखि सत्तामा वा सत्ताको खेलमा मात्र व्यस्त बनिरहेकाले नेपाली कांग्रेस अलमलिएको छ । पार्टीभित्रको गुटबन्दीको कोही जिम्मेवारी लिन तयार छैन, तर कांग्रेस गुटबन्दीले पीडित बनेको सबैले स्वीकार गर्छन् । पार्टीभत्रको स्वार्थी समूहलाई विस्थापित नगरी सुधार सम्भव देखिँदैन र बीपी, गणेशमान, कृष्णप्रसाद जस्ता पार्टीका संस्थापक नेताहरूको सपना अनुसारको कांग्रेस बनाउन सकिन्न भन्ने ठूलो पंक्ति छ कांग्रेसमा, तर स्वार्थी समूह कुन हो भन्नेमा अलग–अलग विचार छ ।
२०१५ सालमा भएको निर्वाचनमा १०९ सिटमा ७४ सिटसहित दुई तिहाइ बहुमतबाट बनेको सरकार विस्थापनको कुरा नगरौं, २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनस्र्थापना भए पछिको पहिलो आमचुनावबाट २०४८ मा २०५ सिटमा ११४ सिटसहित नेपाली कांग्रेस सत्ताको नेतृत्व गर्न पुगेको थियो र ६९ सिटसहित तत्कालीन नेकपा एमाले प्रमुख प्रतिपक्षको भूमिकामा रह्यो । आफ्नो बहुमतको सरकारलाई नेपाली कांग्रेसबाट छत्तीसे र बहत्तरे बनेर छिन्नभिन्न बनाइयो र मुलुकलाई अस्थिरताको भुँवरीमा फँस्न अभिषप्त बनाइयो । कांग्रेसमा लोकतन्त्रप्रतिको निष्ठा र जनताप्रतिको विश्वास लड्खडाए जस्तो लाग्छ । कांग्रेसको गति कम्पास हराएको जहाजको जस्तो छ । गुट र उपगुटको महारोगबाट नेपाली कांग्रेस पीडित छ । पार्टीभित्रको खिचातानी, डाहा र इष्र्याले जलेर कांग्रेसीहरू यदुवंशी झैं आफै सिद्धिदै गएका हुन् ?
केपी ओलीको व्यक्तित्व, स्वीकार्यता र आत्मविश्वासको ओजमा अघि बढिरहेको नेकपा एमाले आज विभाजनको घाउमा मल्हमपट्टी लगाउँदै फेरि जुर्मुराउँदै छ, तर कांग्रेसको नियति दुःखलाग्दो भएको छ । सहमतिको राजनीतिले बढी प्राथमिकता पाउँदै जानु पर्नेमा असैद्धान्तिक आधारमा बनेका स्वार्थी गठबन्धन, एकता र मोर्चाको नियति निराशाजनक नै हुन्छ मुलुकका लागि । सार्वजनिक विमर्शबाट गायब भएको दलको भविष्य लामो हुन सक्दैन । तसर्थ, नेकाले आफ्नो स्वरूपान्तरणका लागि आफैभित्रको संवाद र जनतासँगको सार्थक संवादका लागि तयार हुनुपर्छ । नेपाली कांग्रेसको सदाबहार आरोप छ– कम्युनिष्ट पार्टी अधिनायकवादी, तानाशाही र निरंकुश हो, यसले संसदीय व्यवस्था मान्दैन । नेकपा एमाले त लोकतन्त्रको लागि नेपाली कांग्रेस जस्तै त्याग, तपस्या, जेलनेल सहेको र बहुदलीय व्यवस्थाप्रति प्रतिबद्ध पार्टी हो । कांग्रेसले यो भुत्ते अस्त्रको सहारामा आफ्नो यात्रा अघि बढाउन कोशिस गर्दैछ, जुन प्रत्युत्पादक छ ।
नेपाली कांग्रेसको नारा ‘राष्ट्र, राट्रिष्यता, प्रजातन्त्र र समाजवाद’भित्रको समाजवादको नारा बनावटी, फिका र धुमिल लाग्दछ । नाङ्गो रूपमा निजीकरण र उदारीकरणको वकालत गरेर मुलुकमा कसरी समाजवाद स्थापना हुन सक्दछ ? साँच्चै भन्ने हो भने सडक, सदन र अन्य मञ्चहरूमा नेपाली कांग्रेसको भूमिका कमजोर छ । १५ महिना बढी नेकाले निकट विगतमा आफ्ना सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार सञ्चालन गरेको थियो । तर, सरकारमा कांग्रेसको उपस्थितिले जनतालाई केही फरक महशुस भएन
सार्वजनिक विमर्शका धेरै विषयबाट कांग्रेस अनदेखा गर्न चाहन्छ । सार्वजनिक महत्त्वका प्रश्नहरू नसुनेको झैं गर्दछ कांग्रेस । अहिलेका महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापाहरू सार्वजनिक रूपमा आफूलाई सदैव अब्बल रूपमा पेश गर्न चाहेको दाबी गर्छन् । तर, सञ्चारमाध्यमले सशक्त रूपमा सबाल उजागर गरेपछि मात्र कांग्रेस आवाज उठाउन शुरु गर्छ । जनता आफूसँग तत्काल सरोकार राख्ने मुद्दामा पार्टीले सम्बोधन गरोस् भन्ने चाहन्छन् तर सञ्चार क्षेत्र र कनिष्ठ नेताहरूले धेरै घचघच्याएपछि मात्र कांग्रेस केही सुन्छ । कांग्रेस चुकेको छ लोकतन्त्रलाई गतिशील बनाइराख्न । राजनीतिको मूल अभिष्ट जनसेवा तर कांग्रेस सत्ताको छिनाझप्टीमै छ । जनसरोकार सम्बोधनमा निरीह बन्नु र आफ्नै पार्टीभित्र अलमलिनु मुलुकका लागि दुःखद् हो ।
निष्कर्षमा भन्ने हो भने कांग्रेसले आफ्नो भूमिकाका बारेमा छलफल, बहस र विमर्श चलाउनुपर्छ । गुटबन्दीको चरम चपेटामा रुमलिएको कांग्रेस आफ्नो भूमिकालाई सशक्त र परिणाममुखी बनाउन आफ्नै खुट्टामा उभिनु पर्छ । कांग्रेस चुकेको केमा छ भने ऊ अरुको असफलतामा आफ्नो सफलता देख्दछ । वामपन्थीबीचमा विग्रह हुँदा, कम्युनिष्टहरू फुट्दा मात्र आफ्नो भविष्य देख्ने महारोगबाट कांग्रेस मुक्त हुनुपर्छ । अरुको मुख ताक्दा धेरै निर्णय गर्नमा ढिलासुस्ती भएको देखिन्छ । संविधानको मर्म अनुसार प्रतिस्पर्धात्मक राजनीतिको थिति यतिबेला अलमलिएको छ । जनताको आरोप छ– दलका गतिविधिका कारण मुलुकमा भ्रष्टाचार मौलाएको र प्रजातान्त्रिक आवरणमा मुलुकमा ब्रम्हलुट चलिरहेको छ ।
सरकार गिराउने वा सत्ता प्राप्तिको षडयन्त्रमा संलग्न भएर न कांग्रेसको भविष्य सुरक्षित रहन्छ, न मुलुकको । जनतालाई विकल्प खोज्न दिनुपर्छ, तर कम्तीमा पनि जनादेश र मतादेशलाई शिरोपर गरेर तोकिएको अवधिसम्म जितेको दललाई सरकार चलाउन दिनुपर्छ । सरकारमा बसेर जनविरोधी काम गर्नेलाई अर्को चुनावमा जनताले दण्डित गर्छन् । यसो गर्न सकेमा मात्र नेपालमा अब राजनीतिक स्थायित्वको क्रम शुरु हुन सक्छ । आजको नियतिबाट कांग्रेस मुक्त भएमा मात्र मुलुकमा सकारात्मक प्रभाव पर्दछ । अब नेपाली कांग्रेसले पार्टीभित्रका चरम गुटउपगुटको स्वार्थी सञ्जालको जञ्जालबाट मुक्त भएर जनभावना अनुरूप जनअभिमत प्राप्त गर्न कोशिस गर्नुपर्छ ।
मुलुकमा अमनचैन, लोकतन्त्र र स्वतन्त्रताको रक्षा र समुन्नति मुलुकका अपेक्षा हुन्, यसका लागि सबै आग्रहबाट मुक्त भएर २१औं शताब्दी सुहाउँदो लोकतान्त्रिक पार्टी बनेर नेपाली कांग्रेसले मुलुकमा स्वस्थ प्रतिष्पर्धात्मक वातावरण निर्माण गरोस् भन्ने चाहन्छन् जनता । मुलुकभर पार्टी कार्यकर्ताको विशाल सञ्जाल भएको कांग्रेस जनताप्रतिको जवाफदेहिताबाट अनदेखा भएमा र नेपाली जनताको अपेक्षालाई सम्बोधन गर्न चुकेमा कांग्रेसकै लागि घातक हुन सक्छ । नेपाली कांग्रेसले स्वरूपान्तरण र आत्मआलोचनाको बाटोबाट अघि बढ्न जरुरी छ ।