ePurwa

सभामुखसंगै उपसभामुख पनि झापाले पाउँदै, इन्दिरा रानामगरद्वारा उम्मेदवारी


शनिवार, माघ ७, २०७९

झापा । प्रतिनिधिसभाको सभामुख पाएको झापाले उपसभामुख पनि पाउने देखिएको छ । सभामुखमा झापा क्षेत्र नं २ का सांसद देवराज घिमिरे निर्वाचित भएको भोलिपल्ट उपसभामुखमा सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले उम्मेदवारी दिएकी छन् ।

उनी पनि झापा अर्जुनधारा निवासी हुन् । यसअघि सभामुखमा निर्वाचित घिमिरे पनि झापा क्षेत्र नं २ को अर्जुनधाराकै बासिन्दा हुन् । उपसभामुखका लागि बिहीबारसम्म रास्वपाकै सोविता गौतमको चर्चा थियो । तर, शुक्रबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले रानामगरलाई अघि सा¥यो ।

सत्तारुढ दलबाट उम्मेदवार बनेकी रानामगर शनिबारसम्म कुनै अप्रत्याशित राजनीतिक घटनाक्रम नभए प्रतिनिधिसभाको उपसभामुख बन्ने लगभग निश्चित छ । राजनीतिक क्षेत्रका लागि रानामगरको नाम नौलो हो । तर उनी सामाजिक क्षेत्रमा भने अब्बल र कुशल नेतृत्वका रूपमा स्थापित भइसकेकी नेता हुन् ।
गत निर्वाचनदेखि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएकी उनी समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार बनेर अहिले प्रतिनिधिसभा सदस्य बनेकी हुन् । उनको परिचय भने यत्तिमै सीमित छैन, बरू सिंगो नेपालले गौरव गर्न लायक छ ।
रानामगर देश र विदेशमा समेत चर्चित समाजसेवी हुन् । उनकी आफ्नै छोरी छन् सुबानी रानामगर । तर उनलाई सुबानीले मात्र नभइ सयौं बालबालिकाले आमा मान्छन् । सयौं बालबालिकाले उनको न्यानो काख र ममतामा हुर्किने मौका पाएका छन् भने शिक्षा दिक्षा, सीप र रोजगारीसँग समेत उनले जोडिदिएकी छिन् ।

साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक क्षेत्रमा काम गर्न थालेकी रानामगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने गरेकी छिन् । बन्दी सहायता नेपालकी संस्थापक उनले त्यही संस्थामार्फत् बाबुआमा जेल पर्दा अलपत्र पर्ने बालबालिकाको स्याहार र शिक्षा दिक्षामा सहयोग गर्दै आएकी छिन् । त्यही कामले उनलाई नेपालमा मात्रै होइन, विश्वभर चिनाएको छ ।

सुरुवाति चरणमा काठमाडौं आएर एक विद्यालयमा शिक्षिकाका रूपमा समेत काम गरिन् उनले । त्यतिबेलै मानवअधिकार अभियन्तासमेत रहेकी साहित्यकार पारिजातसँग उनको भेट भयो । पारिजात कारागारमा रहेका राजबन्दीहरूको अधिकारका लागि लडिरहेकी थिइन् । पारिजातले नै आफूलाई कारागारहरूमा लगेर आफ्ना काम चिनाएको इन्दिरा बताउँछिन् । त्यति बेलादेखि नै नेपालको न्याय प्रणालीसँग उनी परिचित भइन् । त्यसपछि उनी कैदीबन्दीको अधिकारका लागि सक्रिय भएर लागिन्।
०२७ सालमा झापाको शनिश्चरेमा सामान्य परिवारमा जन्मिएकी उनी आफैँ भने १० वर्षसम्म विद्यालय टेक्न पाइनन् । ढिला विद्यालय भर्ना भए पनि उनले स्नातकसम्मको पढाइ पूरा गरेकी छिन् । उनका बुवाआमा उदयपुरबाट झापा बसाइ सरेका थिए । ६ सन्तानमध्ये सबैभन्दा कान्छी उनलाई परिवारले ढिलामात्र विद्यालय पठाएको थियो । उनले अक्षरहरू भने दाजुहरूसँगै सिकेकी हुन् । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैँ धुलोमा अक्षर कोेरेर प्रारम्भिक शिक्षा हासिल गरेकी इन्दिरा अहिले धेरै बालबालिकाको भविष्य उज्ज्वल बनाइरहेकी छन् । रानाको संस्थाले १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाह केन्द्र चलाउनुका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ । यतिबेला उनको संस्थाले करिब १ हजार ५ सय बालबालिकाको हेरचाह गरिरहेको छ । उनलाई सन् २०१४ मा स्विडेनकी रानी सिल्भियाले वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड पनि प्रदान गरेकी थिइन् ।
सन् २००५ मै ‘अशोका फेलो’ पाएकी उनी दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित छिन् । उनले २००९ मा एसियाका शीर्ष २१ नेतृत्वले पाएको जनसेवा अवार्ड पाइन् भने सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाहरूको सूचीमा परेकी थिइन् ।

उता कांग्रेस सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहित मोर्चा बनाएर उपसभामुखमा उम्मेदवारी दिएको हो ।
यादवको प्रस्तावमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे रहेका छन् भने नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ला र कांग्रेसका प्रमुख सचेतकसमेत रहेका रमेश लेखक समर्थक रहेका छन् ।

कांग्रेसबाट उम्मेदवारी दिएकी यादव पार्टीकी केन्द्रीय सदस्यसमेत हुन् । उनी राष्ट्रिय सभाकी पूर्वसांसद समेत हुन् । उनी २०७४ मा मधेस प्रदेशबाट २ वर्षका लागि राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । त्यसअघि उनी २०७० सालमा समानुपातिक सांसदसमेत भएकी थिइन् ।
सभामुखको निर्वाचनमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पनि नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका थिए । सभामुखमा निर्वाचित एमाले उम्मेदवार देवराज घिमिरेले एमालेसहित माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए । सभामुख चुनावमा देखिएको गठबन्धनले उपसभामुखमा पनि सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिएको छ ।

सम्बन्धित खबर