ePurwa

झापा साइक्लिङ च्यालेन्जमा लामा, मगर, नेम्वाङ र लिम्बू प्रथम


शनिवार, पौष ३०, २०७९

बिर्तामोड । ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ मा हर्कबहादुर लामा, सुरज राना मगर, इन्द्रकला नेम्वाङ र किरण लिम्बू प्रथम भएका छन् ।

आज झापाको अर्जुनधारास्थित लक्ष्मीधापमा सम्पन्न दोस्रो ‘झापा साइक्लिङ च्यालेन्ज २०७९’ मा उनीहरु आआफ्नो विधामा प्रथम भएका हुन् । उनीहरुले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत लामा पुरुष मास्टर्स (३५ वर्षदेखि माथि), मगर पुरुष एलाइट (१९ देखि ३५ वर्षसम्म), नेम्वाङ महिला खुला (सबै उमेर समूह) र लिम्बू पुरुष जुनियर (१९ वर्षमुनि) तर्फ प्रथम भएको प्रतियोगिता संयोजक आकाश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको आयोजक नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठका अनुसार पुरुष मास्टर्सतर्फ विष्णुकुमार राई दोस्रो र नविन अग्रवाल तेस्रो भए ।

त्यस्तै, पुरुष एलाइटतर्फ अच्युतकृष्ण खरेल दोस्रो र कुमार तामाङ तेस्रो भए । महिलातर्फ इन्द्रकुमारी तामाङ दोस्रो र आशा लिम्बू तेस्रो भए । पुरुष जुनियरतर्फ दिपसागर योञ्जन दोस्रो र निमा शेर्पा तेस्रो भए ।

प्रतियोगितामा दोस्रो हुनेले नगद १० र प्रमाणपत्र तथा तेस्रो हुनेले नगद पाँच हजार र प्रमाणपत्र पाए । विजेतालाई प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगर, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देन लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिताअन्तर्गत पुरुष मास्टर्सतर्फ ३६ जना, पुरुष एलाइटतर्फ ४४ जना, महिला खुलातर्फ ९ जना र पुरुष जुनियरतर्फ ४७ जना गरी १३६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

२० किलोमिटर लामो भएको साइक्लिङ झापा अर्जुनधाराको लक्ष्मीधापबाट सुरु भई सालबारी–कालिस्थान–सेतीपानी–सालबारी झिलपूर्व हुँदै चिया बगानबाट पुनः सुरु गरिएको स्थानमा आएर टुंगिएको थियो ।

प्रतियोगिताको सहआयोजक स्थानीय क्लब आजाद सामुदायिक संस्थाका अनुसार स्वास्थ्य र स्वस्थ जीवनका लागि साइक्लिङ भन्ने नाराका साथ विभिन्न चार विधामा प्रतियोगिता भएको हो ।

सालबारी जंगल क्षेत्रमा साइकल पर्यटनलाई स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर, प्युठान, कालेबुङ, सिलिगुढी लगायतका ठाउँबाट खेलाडी सहभागी भएको श्रेष्ठले बताए ।

सम्बन्धित खबर