ePurwa

धरानमाथि मानेभन्ज्याङ एफसीको फराकिलो जित


सोमवार, वैशाख १७, २०८१

झापा । धरान एफसीमाथि सहज जित निकाल्र्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मानेभन्ज्याङले धरान एफसीमाथि ५-१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । खेलको ३१ औं मिनेटमा करणले नै डिबक्समा पाएको पासलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० को अग्रता बनाएको मानेभन्ज्याङले ४६औं मिनेटमा करण राईको क्रसमा अनमार्क रहेका सुरज रसाइलीले गोल गर्र्दै फराकिलो अन्तर निकाले ।

खेलको ५५औं मिनेटमा मानेभन्ज्याङका तुसार बिश्वकर्माले डिबक्स बाहिरबाट गरेको सोझो प्रहार गोलमा परिणत भएको थियो । ६७औं मिनेटमा मानेभन्ज्याङका लागि सुरज रसाइलीले गोलरक्षकसँग वान टु वानको स्थितिमा गोल गरे । उनी खेलको प्लेयर अफ दी म्याच बन्दै नगद ३ हजार पाउन सफल भए । धरान एफसीले खेलमा एकमात्र सान्त्वना गोल फर्कायो । कप्तान तपन कार्कीले पेनाल्टी एरियामा पाएको बललाई गोल गर्न सफल भए ।

खेलमा गोल गर्ने थुप्रै अवसर सिर्जना गरेको धरान मानेभन्ज्याङको मजबुत डिफेन्स लाइनका कारण निरीह भएको थियो । मंगलबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल रेडहर्ष क्लब इलाम र बेलबारी एफसी मोरङबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख पाउने छ ।

सम्बन्धित खबर