ePurwa

वैदेशिक रोजगारीमा गएका युवाको कथामा म्युजिकल फिल्म ‘प्याकुली’


सोमवार, साउन २८, २०८१

काठमाडौं । वैदेशिक रोजगारीमा गएको युवाको कथामा आधारित म्युजिकल फिल्म ‘प्याकुली’ सार्वजनिक भएको छ । नीतिन चन्दले निर्देशन गरेको गीतको भिडियोमा आरआर खड्का, तलीशा गुरूङ, महेश खड्का, घनश्याम जोशी, बाल कलाकार रोनिश खड्का, अर्जुनकाजी श्रेष्ठको अभिनय छ ।

आरआर (रामहरि) खड्काको शब्दमा रहेको गीतमा बाबुल गिरीको संगीत र स्वर छ । शिशिर गरूङले निर्माण गरेको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् ।

लाइक माइण्डस् नेपालले सम्पादन गरेको भिडियोको कलर ग्राफिक्समा राकेश दाहालले योगदान दिएका छन् । क्रियटिभ डाइरेक्टर शिशिर अर्याल र सहायक निर्देशक उत्सव पौडेल छन् ।

समाजको कथालाई आफै भोगेर शब्दमा उतारेका खड्काले म्युजिक भिडियोका मुख्य चरित्र निर्वाह गरेका छन् । ‘अरूका कुरा सुनेकै भरमा ठूला घटना भइरहेका छन् । श्रम गर्ने परिवारले कागले कान लग्यो भनेर पछि लाग्ने भन्दा पनि कान छाम्ने गरौं । यो गीतको यही सन्देश हो’ उनले भने ।

खड्काले यो घर–घरको कथा भएको बताए । ‘अधिकांश मान्छे विदेशमा छन् । श्रीमान विदेशमा, श्रीमती गाउँमा, सफा नियतले पनि बोल्नै अप्ठ्यारो छ । मैलै गाउँमै भोगेको कथा हो’ खड्काले भने, ‘समाजप्रति दायित्व लागेर यो निर्माण गरेका हौं । मनोरञ्जनमात्र होइन सन्देश पनि दिउ भन्ने मुख्य ध्येय हो’ उनले भने ।

गीतको भिडियोमा अभिनय गरेकी गुरूङले नेपाली समाजको कथालाई प्रस्तुत गर्ने पात्रको रूपमा काम गर्न पाउँदा खुसी लागेको बताइन् ।
कलाकार महेश खड्काले प्याकुलीमा जोडिन पाउँदा आफ्नो कामलाई फरक पाएको बताए ।

गायक बाबुल गिरीले यो अहिलेसम्मकै फरक खालको उत्कृष्ट गीत भएको बताए । समाजको कथामा चित्रण गरिएको गीतमा सहकार्य गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले चलिरहेको भन्दा फरक परिवेशमा बनेको गीत उत्कृष्ट भएको बताइन् । ‘बाकसमा शव आउने तथा अन्य दृश्यले दशैको माहोल फिल भयो’ उनले भनिन् । गीत सार्वजनिक समारोहमा दिपाश्रीसहित शिवहरि पौडेल, गीतकार शंकर अधिकारी गायल, निर्देशक ज्ञानेन्द्र देउजा लगायत कलाकर्मीको उपस्थिती थियो ।

सम्बन्धित खबर