ePurwa

फागुन १३ गतेदेखि बुढासुब्बा गोल्डकप हुने


बुधवार, माघ ४, २०७९

धरान ।  कोरोना महामारीका साथै आर्थिक कारणले स्थगित हुँदै आएको बुढासुब्बा गोल्डकप फुटबल आउँदो फागुन १३ देखी २० गते सम्म आयोजना गरिने धरान फुटबल क्लबले आज मङ्गलवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । गएको २ वर्ष स्थगित भएको गोल्डकप यसपालि भने आयोजना गरिने भएको हो ।

गोल्डकपको तयारीका लागि आर्थिक, प्रचार प्रसार, मैदान व्यवस्थापन, आयोजक टिम तयारी उपसमितिहरू गठन भैसकेको जनाइएको छ। विज्ञप्ति अनुसार उपसमितिहरूका संयोजकहरूमा क्रमशः नवीन राई, प्रताप तामाङ, सुदिप उप्रेती र रोमी मोक्तान रहेका छन् ।
२३ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि क्लबका अध्यक्ष किशोर राई अध्यक्ष तथा पदाधिकारीहरू सदस्य रहने गरी सचिवालय समिति गठन गरिएको छ । विज्ञप्तिमा २२ औं संस्करणको पुरस्कार राशि अहिले सम्म प्रदान नगरिएको बारे सामाजिक सञ्जालमा नकारात्मक समाचार आए पनि क्लबले त्यसलाई सहज रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘कोरोना महामारीका कारण राखेपबाट प्राप्त हुने पुरस्कार रकम फ्रिज भएको तथा विगतमा प्रदान गरिँदै आएको प्रथम पुरस्कार राशि तत्कालीन प्रदेश नं. १ सरकारबाट हाम्रो अथक प्रयासका बाबजुद पनि प्राप्त हुन नसक्नु नै पुरस्कार राशि दिन नसकेको मुख्य कारण रहेको हो ।’
उक्त पुरस्कार रकम यसपालि प्रतियोगिता आयोजना मिति अगावै प्रदान गरिने प्रतिबद्धता प्रकट गर्दै विज्ञप्तिमा भनिएको छ ‘२३ औ संस्करण आयोजना मिति अगावै पुरस्कार राशि सम्बन्धित क्लबहरूलाई उपलब्ध गराउने जानकारी अखिल नेपाल फुटबल सङ्घ मार्फत जानकारी गराइसकेका छौँ ।’
यसपालि प्रतियोगिता सञ्चालन गर्न आवश्यक आर्थिक सहयोग धरान उपमहानगरपालिका एवं वडा अध्यक्षहरूबाट अपेक्षा गरे अनुसार प्राप्त हुने विश्वास प्रकट गर्दै विज्ञप्तिमा भनिएको छ “प्रतियोगिताको संयोजक रहेको धरान उपमहानगरपालिकाका नगर प्रमुख ज्यु, २० वटै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरूसँग आर्थिक सहयोगको लागि सौहार्दपूर्ण वातावरणमा छलफल सम्पन्न भएको छ ।”