ePurwa

फिफा रेफ्री श्याम दनुवारलाई ‘स्पेशल एचिभमेन्ट अवार्ड’


शुक्रवार, चैत ३०, २०८०

विर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको पाचौँ झापा स्पोर्टस् अवार्डमा फिफा रेफ्री श्याम दनुवार ‘स्पेशल एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । विहीबार साझँ बितामोडमा आयोजित अवार्ड वितरण कार्यक्रममा दनुवारलाई २५ हजार नगदसहित ‘स्पेशल एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो ।

पिता स्वर्गीय दर्पणलाल र माता शोभादेवीको कान्छा पुत्रको रूपमा २०३७ साल असार ४ गते जन्मिाएका हुन् । खेलाडीबाट खेल जीवन सुरुवात गरेका झापा अर्जुनधारा–६ कप्तानबारीका दनुवार हाल फिफा रेफ्री छन् ।

आफ्नो खेलाडी जीवनमा पनि उनी बहुप्रतिभाका धनी थिए । दनुवारले २०५४ सालबाट कराते र फुटबल दुवै खेलको सुरुवात गरे । करातेमा ब्ल्याकबेल्ट दनुवारले तीनवटा राष्ट्रिय खेलकुदमा पनि सहभागिता जनाए । घरेलु फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ए डिभिजन लिगमा समेत दुईपटक खेलाडीको रूपमा सहभागिता जनाइसकेका छन्, दनुवारले । २०६७ सालमा मछिन्द्र फुटबल क्लब र २०६८ सालमा एपिएफ फुटबल क्लबबाट उनले लिग खेले ।

२०६८ सालको लिगसँगै खेलाडी जीवन त्यागेका दनुवारले खेल क्षेत्रलाई चटक्कै माया मार्न सकेनन् । खेलाडी जीवनको गन्तव्य सिधिएपछि २०६८ कै अन्तिममा झापा जिल्ला फुटबल संघले आयोजना गरेको आधारभूत रेफ्री तालिम लिए । सन् २०१८ मा रेफ्री कोर्स गर्दै एन्फाको ए ग्रेड रेफ्री बन्न पुगे दनुवार । उनी मोफसलदेखि काठमाडौँमा हुने विभिन्न फुटबल प्रतियोगितामा निर्णायक भएर खेल खेलाइरहेका छन् ।

उनको हँसिलो अनुहार र खेल अवधिमा खेलाडीप्रति गर्ने व्यवहारको फुटबल वृत्तमा सधैँ चर्चा हुने गर्दछ । विभिन्न उत्तारचढाव र संघर्षका बीच रेफ्री करिअरको एक दशकपछि उनी सफलता चुम्न सफल भए । २०२४ का लागि फुटबलको सर्वोच्च निकाय फिफाको ब्याच दनुवारको छातीमा टाँसियो । उनी झापाकै पहिलो फिफा रेफ्री बने । दनुवार झापा रेफ्री संघका समेत अध्यक्ष छन् ।

सम्बन्धित खबर