ePurwa

धुलाबारीको धुले मैदान देखि ओलम्पिक ‘ट्रयाक’ सम्मको मेनुकाको संर्घष


आइतवार, वैशाख ९, २०८१

झापा । भनिन्छ, मान्छेको जीवन नै एउटा दौड हो । जन्मेदेखि जीवनको अन्तिम घडीसम्म मान्छे जिन्दगीका अनेकौं नियतिहरुसँग जुध्न दौडिरहन्छ । यो अविराम दौड मानव जीवनको अनिवार्य शर्त हो । दौड अर्थात गति।

यही गति संसारका लागि महत्वपूणर् हुने धेरै विद्वानहरुले भन्दै आएका छन्। गति, गति अनि फेरि गति, गति रोकियो कि जीवन सकियो।

व्यक्तिगत जीवनलाई मात्रै प्राथमिकताको पहिलो सूचीमा राख्नेहरुका लागि त गति र दौड यति जरुरी हुन्छ भने कल्पिऔं त देशकै निम्ति प्रभावशाली योगदान गर्नेहरुको जीवनको दौड कस्तो होला ?

हो, व्यक्तिगत जीवनको दौडभन्दा पर्तिर पनि जिन्दगीमा केही महत्वपूणर् दौडहरु हुन्छन्, जहाँ व्यक्तिको स्वार्थ बिल्कुल गायब भएको हुन्छ र सामूहिक स्वार्थ र खुसी सबैभन्दा प्राथमिकतामा परेको हुन्छ।

यसरी आफूले आफैलाई बिर्सेर, देश र समाजको खुसीको सपना देख्ने केही विरलाकोटी मनुष्यमध्येका एक उत्कृष्ट पात्र हुन् खेलाडी। जसले निजी खुसीलाई सदा दबाएर समाज र देशको खुसीलाई आफ्नो प्रमुख ध्येय बनाएका हुन्छन्।

तिनका आँखाले सदा देशको खुसी खोजिरहेको हुन्छ। देश खुसी पार्न आफ्नो खुसीलाई तिलान्जली दिने यो देशका धेरैमध्येकी एक खेल प्रतिभा हुन्, मेनुका राउत।

झापा मेचीनगर ७ का बाबु दानबहादुर र आमा देवकीकी कान्छी छोरी ५२ वर्षीया राउत नेपाली खेल इतिहासकी एक त्यस्तै पात्र हुन्, जसले एउटा औसत मान्छेले पूरा गर्ने जीवनको अनिवार्य दौड त झेलेकी छन् नै, देशलाई खुसी दिने दौड पनि अनवरत दौडेकी छन्।

यो कठिन दौडमा सफलता पाउँदा उनी धेरैपटक खुसीले पुलकित बनेकी छन्, असफलता हात लाग्दा फेरि जितको खोजी गर्ने बलियो प्रतिबद्धता देखाउँदै पुनः दौडेकी छन्। देशका निम्ति अनवरत दौडिरहने यही प्रतिबद्धताले गाउँकै विद्यालयको चउरदेखि सोल ओलम्पिकको भव्य मन्चसम्मको उनको यात्रा सम्भव भयो।

आजभन्दा ठ्याक्कै ३६ वर्षअघि अर्थात साढे तीन दशक अघिको कथा हो यो। बेला यस्तो थियो, खेलकुदमा पुरुषको एकल वर्चश्व थियो। खेलकुद मात्रै होइन, शिक्षा, राजनीति र सामाजिक अगुवाइका प्रायः सबै क्षेत्रहरु पुरुष कब्जामा थिए। संरचनागत विभेदको जाँतो यति क्रुर थियो कि, छोरीहरु घरको चार भित्ता कुरेर बस्न बाध्य थिए।

लैगिंक विभेदको उत्कर्ष व्याप्त रहेको त्यो समयमै मेनुकाले विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिकमा गौरवपूणर् सहभागिता जनाएकी थिइन्। चन्द्रसूर्य अंकित नेपालको झण्डा शीरमा राखेर जब उनी सोल ओलम्पिकको ‘ट्रयाक’ मा दौडिइन्, लाखौं नेपाली छाती गर्वले ढक्क फुलेको थियो। नेपालकी एक हिम्मतिली छोरीको त्यो सफलताले अरु लाखौं छोरीहरुलाई घरबाहिर निस्कन जबरर्जस्त प्रेरणा दिएको थियो।

सन् १९८८ को सोल ओलम्पिकमा मेनुकासहितका नेपाली खेलाडीको सहभागिता केवल सहभागितामा सिमित रहेको जति सत्य हो, उनीहरुको सहभागिताले भविष्यका हजारौं लाखौं नयाँ खेलाडीहरुका लागि सम्भावनाको ढोका खोलेको पनि उत्तिकै सत्य हो।

१४ वर्षको उमेरमै धुलाबारीको सानो मैदानबाट सुरु भएको उनको खेल कौशल जिल्ला, क्षेत्र, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय मैदानसम्म प्रदर्शित भयो।

सन् १९८७ मा कोलकातामा भएको तेस्रो दक्षिण एशियाली खेलकुदमा १० हजार र १५ सय मिटर दौडमा दुई काँस्य पदक जितेकी उनले न्यूजिल्याण्डमा सम्पन्न वल्र्डकप क्रस कन्ट्री प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

नयाँ पुस्ताका असंख्य तन्नेरीहरुलाई खेलकुदमा भविष्य खोज्न व्यवहारतः उत्प्रेरित गर्ने मेनुका नेपाली खेलकुद क्षेत्रकी रोल मोडल पनि हुन्। जसले खेलाडीका लागि फलामे अनुशासन र कठोर मिहेनत प्राथमिक कर्म हो भनेर आफै उदाहरण बनेर सिकाइन्। व्यक्तिगत स्वार्थमा रुमलिनुभन्दा देश र समाजका लागि खेल क्षेत्रबाट पर्याप्त योगदान गर्न सकिन्छ भन्ने प्रमाण पेश गरिन्। अझै पनि मेनुका आफ्नो शारिरिक अवस्थाले साथ दिएसम्म खेलाडीलाई आफुले जानेको सिप सिकाउने प्रतिवद्धता व्यक्त गर्छिन् ।

सम्बन्धित खबर