ePurwa

मिडफिल्डर झापाका पुजन मछिन्द्रमा अनुबन्धित


शनिवार, पौष २३, २०७९

बिर्तामोड, पुस २० । मिडफिल्डर झापा मेचीनगरका पुजन उपरकोटी सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीमा अनुबन्धित भएका छन् ।

मछिन्द्रबाट पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड क्लबविरुद्ध आइतबार क्वार्टरफाइनल खेलेका पुजनले औपचारिक रुपमा सम्झौता भने मंगलबार गरेका हुन् ।

उनले केही दिनअघि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली मनाङ मर्स्याङ्दी क्लब छाडेका थिए । उनले त्यसअघि झापा ११ एफसीबाट खेलेका थिए ।

फरवार्ड अन्जन विष्ट र रक्षक दिनेश राजवंशीले मनाङ छाडेको केही दिनमा पुजनले पनि मनाङ छाडेका हुन् ।

राष्ट्रिय फुटबल टोलीका समेत सदस्य रहेका झापाका पुजनले झन्डै ५ वर्ष मनाङमा बिताएका थिए । अन्जन र दिनेश भने चर्च ब्वाइज युनाइटेड क्लबमा आबद्ध भइसकेका छन् ।

क्लब र आफ्नो लक्ष्य समान भएकाले नयाँ सिजनका लागि मछिन्द्रमा आबद्ध भएको पुजनले बताएका छन् । ‘भविष्यमा मछिन्द्रबाट राम्रो गर्न सक्छु कि भने आशा छ,’ उनले भने, ‘क्लबले पनि मबाट राम्रो प्रदर्शनको अपेक्षा गरेको छ । म आफ्नोतर्फबाट शतप्रतिशत दिने प्रयास गर्नेछु ।’

यसपटक ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुने अखिल नेपाल फुटबल संघले घोषणा गरिसकेको छ । मछिन्द्रको आहा राराको यात्रा भने पहिलो खेलमै टुंगिएको थियो ।

सम्बन्धित खबर