ePurwa

झापामा सरकारी कर्मचारीमाथि कुटपिट, दुई जना पक्राउ


शुक्रवार, जेठ १८, २०८१

झापा । झापाको शिवसताक्षीमा राष्ट्रसेवक कर्मचारी कुटिएका छन् । सेवाग्राहीले शिवसताक्षी नगरपालिकाका कर्मचारी नन्दि केशर भट्टराईलाई आफू अनुकूलको कागज तत्काल भन्दै कुटपिट गरेका हुन् । उनी वडा नम्बर एकका वडा सचिव हुन् । शिवसताक्षी नगरपालिका वडा नम्बर १ का वडा सचिव भट्टराई वडा कार्यालय परिसरमै पिटिएको घटनाका प्रत्यक्षदर्शीले बताए । उनीहरूले भने, ‘वडा सचिवलाई दुईजना सेवाग्राहीले मिलाई मिलाई पिटे ।’

इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनीश बुढाथोकीले वडा सचिव माथि आक्रमण गर्ने स्थानीय सोमनाथ बजगाईँ र निजका दाजु घनश्याम बजगाईंलाईे पक्राउ गरेको बताए । उनका अनुसार बिहीबार दिउँसो को यो घटनाको सूचना पाउने बित्तिकै उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई सम्मानित झापा जिल्ला अदालतमा कारबाहीका लागि मुद्दा दर्ता गरेर थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय झिलझिलेको हिरासतमा राखिएको छ ।

शिवसताक्षी नगरपालिकाका सहायक सूचना अधिकारी डिल्ली नेपालले वडा कार्यालयको क्यान्टिनमा वडा सचिव भट्टराईमाथि टाउको, अनुहार, शरीरका विभिन्न भागमा मुक्का प्रहार गरेको बताए । कर्मचारी आक्रमण गर्नेलाई हदै सम्मको कारबाहीको माग गर्दे शिवसताक्षी नगरपालिकाका कर्मचारीले विज्ञप्ति मार्फत प्रशासन सँग माग गरेका छन् ।

जन्म दर्ता सच्याउनका लागि बजगाईँ दाजुभाइ वडा कार्यालयमा गएका थिए । आवेदकले नौ वर्ष अगाडि बनाएको जन्म दर्तामा बाबुको थरबाट जन्म दर्ता बनेको थियो । उक्त जन्म दर्ता तत्कालीन धरमपुर गाविस सचिव पूर्ण समसेर कुँवरले बनाइदिएका थिए ।

आवेदक बजगाईँले अहिले आफ्ना नानीको जन्म दर्तामा आमाको थर पनि समावेश गर्न माग गर्दे निवेदन गरेका थिए । बजगाईँकी श्रीमती कुइँकेल हुन् । जन्म दर्तामा कुइँकेल थर समावेशका लागि बजगाईँको वडा अध्यक्ष समक्ष निवेदन दिएका थिए । उक्त निवेदनमा वडा अध्यक्ष लक्ष्मी चेम्जोङ नियमानुसार जन्म दर्ता सच्याउन सचिव भट्टराईलाई तोक लगाएका थिए ।

वडा अध्यक्ष चेम्जोङले सच्याइदिनु भन्ने सचिवले नटेर्ने भन्दै बजगाईँ दाजुभाइले सचिव भट्टराई माथि मुक्का प्रहार गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जन्म दर्ता सच्याउन दर्ता भएको मितिले १ वर्षमा सच्याउन पाइने कानुनी प्रावधान छ । तर, ९ वर्ष अघिको कागजपत्र सच्याउन यति वेला वडा सर्जमिन गर्नुपर्ने स्पष्ट व्यवस्था छ ।
कुटपिटबाट घाइते बनेका भट्टराईको झापाको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर