ePurwa

प्रेम सम्बन्धमा खटपट भएका कारण भद्रपुरकी किशोरीमाथि दाउ प्रहार, किशोर पक्राउ


शनिवार, जेठ १९, २०८१

झापा । प्रेम सम्बन्धमा खटपट भएका कारण भद्रपुरकी एक किशोरीमाथि धारिलो हतियार (दाउ) प्रहार गरिएको छ । भद्रपुर नगरपालिका -९ घोडामारास्थित शान्तिटोल निवासी १७ वर्षीया श्रेया राईमाथि भद्रपुर- ६ भानुभोक निवासी १८ वर्षीय अभिषेक कर्णले शुक्रबार बिहान पौने ११ बजे दाउ प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

दाउ प्रहारबाट श्रेयाको टाउको र दुवै हातमा गम्भीर चोट लागेको छ । उनको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा उपचार भइरहेको छ । घोडामारा प्रहरी चौकीले दाउ प्रहार गर्ने अभिषेकलाई घटनास्थलबाटै पक्राउ गरी प्रहरी कार्यालय झापामा ल्याएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए । प्रहरीका अनुसार श्रेया एसएस निकेतन अङ्ग्रेजी माविमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् ।

विद्यालयबाट कक्षा ११ को वार्षिक परीक्षा दिएर श्रेया स्कुल बस चढेर उनी घर फर्किएकी थिइन्  । बसबाट ओर्लिने घरतर्फ हिँडेर गइरहेकी श्रेयामाथि अभिषेकले बाटो छेकेर एक्कासि दाउ प्रहार गरेका थिए । पक्राउ पश्चात् अभिषेकले श्रेया मेरी प्रेमिका हो र प्रेम सम्बन्धमा विवाद बढेपछि दाउ प्रहार गरेको प्रहरी समक्ष बयान दिएको जनाइएको छ ।

अभिषेक पनि एसएस निकेतन पढ्थे । कक्षा १२ को परीक्षा दिएर उनी घर बसिरहेका थिए । यस्तो घटना घटेपछि एसएस निकेतनका शिक्षक तथा विद्यार्थीहरू चकित परेका छन् । ‘दुवै विद्यार्थी सरल स्वभावका हुन,’ विद्यालयका प्रिन्सिपल दीप श्रेष्ठले भने, ‘अभिषेकले कल्पना गर्न नसक्ने घटना घटायो ।’ अभिषेकको व्यवहार तथा बोलीचाली विद्यालयमा राम्रै थियो । ‘उनी जहिले झै-झगडाबाट टाढै बस्ने विद्यार्थीमा पर्थे,’ प्रिन्सिपल श्रेष्ठले भने । श्रेयामाथि दाउ प्रहार गर्ने घटना दुखद भएको उनको भनाई छ ।

सम्बन्धित खबर