ePurwa

बाक्लो हुस्सु कुहिरोले तराईको जनजीवन कष्टकर


शनिवार, पौष २३, २०७९

बिर्तामोड। तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घट्दै गएपछि चिसोका कारण जनजीवन कष्टकर भएको छ । तराईमा लगातारजसो बाक्लो हुस्सु कुहिरो लाग्ने गरेको छ । मौसमविद्ले तराईका जिल्लामा शीतलहर नै सुरु भएको औपचारिक घोषणा गरेका छन् ।

झापादेखि नेपालगञ्जसम्मको क्षेत्रमा शीतलहर चलेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य क्षेत्रमा भने शीतलहरको औपचारिक घोषणा गरिएको छैन । दिनमा पाँच पटकसम्म मापन गरेको मौसमका आधारमा शीतलहरको चले नचलेको घोषणा गर्ने गरिएको छ । दुई घण्टाभन्दा बढी घाम नलागे, बिहान बेलुका आकाशबाट शीत चुहिए, अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियसले घटे र न्यूनतम तथा अधिकतम तापक्रमबीचको अन्तर धेरैले घटेपछि शीतलहरको घोषणा गर्ने गरिएको मौसमविद् समिर श्रेष्ठले बताए ।

कठ्याँग्रिदो चिसोका कारण तराईका धेरैजसो विद्यालयमा बिदा दिइएको छ । घरबाट बाहिर निस्किएर काम गर्नै समस्या भएको छ । चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक र मजदुरी गर्नेहरु मारमा परेका छन् । अहिले तराईका जिल्लासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ ।

सम्बन्धित खबर