ePurwa

पीएम कप महिला क्रिकेटको तयारी तीव्र


बुधवार, पौष २७, २०७९

इटहरी । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सह आयोजनामा पुस २९ गतेदेखी इटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारीएको छ ।

इटहरीमा पहिलो पटक क्यानको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी तीव्र पारीएको प्रतियोगिता संयोजक बिप्लभ घोषले बताए । माघ ४ गतेसम्म इटहरी स्थित जनता क्रिकेट पार्कको मैदानमा हुने प्रतियोगिताका लागी मुल समिती गठन गरेर तयारी भईरहेको घोषले बताए । उनले प्रतियोगिता नजिकै गर्दा तयारीलाई तीव्र पारीएको बताए ।

यसका साथै आयोजले सुनसरी र क्रिकेटको महत्वलाई झल्कने गरि निमार्ण गरिएको प्रतियोगिताको लोगो पनि सार्वजनिक गरेको छ ।
नेपालमा महिला क्रिकेट प्रतियोगिताहरु कम भइरहेको अवस्थामा यो प्रतियोगिताले नयाँ तथा पुराना खेलाडीलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने संयोजक घोषले बताए ।

उनले भने, ‘खेलाडीको स्तर बढाउनको लागि प्रदेश १ मा बिशेष गरि सुनसरीमा पनि महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जरुरी थियो । सुनसरी जिल्ला क्रिकेट संघका पदाधिकारीहरुको मेहनत र क्यानको सहयोगमा हामीले यो प्रतियोगिता आयोजना गर्ने अवसर पाएका छौं । हामी खुसी छौं । प्रतियोगिताका कारण प्रदेश १ र सुनसरीबाट फेरी नयाँ प्रतिभाशाली खेलाडी उत्पादन हुने विश्वास छ ।’

प्रतियोगितामा साविक विजेता विभागिय टोली एपीएफ क्लब सहित ७ प्रदेशको टोलीले सहभागिता जनाउने सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले बताए ।  उनले प्रतियोगिताको तयारीको क्रममा अहिले मैदान र पिच निर्माणको काम अन्तिम चरणमा पुगेको र सबै ८ वटा टिमको सहभागिता बारे टुङगो लागिसकेको बताए ।

प्रतियोगिताको विजेताले ५ लाख तथा उपविजेता ३ लाख रुपैया प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचले तीन हजार प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब ८८ लाख ७८ हजार खर्चहुने अनुमान गरिएको छ । सहभागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहमा शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

सम्बन्धित खबर