ePurwa

‘चार्म’ गुमाउदै बुढासुब्बा गोल्डकप


बुधवार, पौष २७, २०७९

इलाम । औलामा गन्न सकिने देशकै प्रतिष्ठित प्रतियोगिता मध्यमा पर्छ धरानको बुढासुब्बा गोल्डकप । युरोप, हङकङ र सिङगापुरमा रहेका धरानेहरुको अपार मायाका कारण २०५५ सालबाट सुरु भएको प्रतियोगितालाई न त १० वर्ष माओवादी जनयुद्धले रोक्यो न त भुकम्प र नाकाबन्दीले ।

२०७६ अन्तिमबाट कोभिडको संक्रमण सुरु भएपछि भने २ संस्करणको प्रतियोगिता हुन सकेको छैन् । धरानेहरुको खेलकुदमा अपार मायाकै कारण ‘मिनी ब्राजिल’ उपमाले धरानलाई चिनाइन्छ ।  आयोजक धरान फुटबल क्लबले २३ औ संस्करण २६ चैत्र २०७८ बाट गर्ने तयारी रहेको पत्रकार सम्मेलनबाट नै जानकारी दिएको थियो । तर दाताहरुबाट सहयोग नपाएको, स्थानीय निर्वाचनले प्रभाव पारेको लगायतका कारण देखाएर आयोजकले प्रतियोगिता स्थगित गरे । त्यती मात्रै हैन् ३ वर्ष अघि सम्पन्न २२ औ संस्करणको बुढासुब्बा गोल्डकपको विजेता तथा उपविजेता टिमले अझैसम्म पुरस्कार रकम पाएका छैनन् ।

बुढासुब्बासंग प्रतियोगिता संचालनका लागि स्थायी श्रोत छैन् । अघिल्ला वर्ष धरान उपमहानगरपालिकाले धरान फुटबल क्लबको नाममा रकम दिने गरेपनि २०७८ को संस्करणमा सिधै खेलमैदानमा पुरस्कार दिने भएपछि २३ औ संस्करण आयोजना हुन नसकेको जानकारहरु बताउँछन् । नाम उल्लेख नगरिदिने सर्तमा एक जनाले भने ‘ बुढासुब्बाको हरेक वर्ष १०÷१२ लाख नाफा भएको विवरण सार्वजनिक हुन्थ्यो । नगरले बजेट क्लबलाई दिन्थ्यो आफु खुशी प्रयोग हुन्थ्यो । गत बर्ष सिधै पुरस्कार नगरले दिने भएपछि गोल्डकप गरेनन् । अनेक बहानाबाजी भएको हो । ’

बुढासब्बा गोल्डकप आयोजक धरान फुटबल क्लब अध्यक्ष किशोर राई एन्फाका मानार्थ उपाध्यक्ष र प्रदेश फुटबल संघका अध्यक्ष समेत हुन् । एन्फा अध्यक्ष पंकज नेम्वाङ प्यानलबाट पुनः प्रदेश अध्यक्षको रुपमा राईको नाम चर्चा छ । तर उनकै नेतृत्वमा संचालन भएको प्रतियोगिताको पुरस्कार क्लबले ३ वर्षसम्म नपाउनुले मोफसलका गोल्डकप प्रतियोगिताका दुर्दशालाई झल्काउँछ ।

पुरस्कार दिन भन्दा प्रतियोगिता गर्न हतारो

धरानका निवर्तमान नगर प्रमुख तिलक राईले अघिल्ला संस्करणको पुरस्कार नपाएको चर्चा भएपछि नगरपालिकाले विजेता तथा उपविजेतालाई मैदानमै पुरस्कार नगरको तर्फबाट दिने निर्णय भएको बताए । ‘पुरस्कार नपाएको चर्चापछि हामीले नगरबाट निर्णय गरेर १८ लाख रुपैया उपलब्ध गराउन मेरो कार्यकालमा निर्णय गरेको थिए । जसमा १० लाख र ५ लाख पुरस्कारको तथा ३ लाख घरेलु टिमलाई तयारी खर्च भनेर ।’ त्यसअघि नगरपालिकाले आयोजकको खातामा रकम निकासा गर्ने गरेको थियो । र त्यही रकमबाट पुरस्कार वितरण हुँदै आएको थियो ।

गत चैत्रमा २३ औ संस्करण गर्न नसकेपछि आगामी फागुनमा प्रतियोगिता गर्न आयोजकहरु कसिएका छन् । सोही समयमा झापामा भद्रपुर झापा गोल्डकपले प्रतियोगियता गर्नका लागि तयारी अघि बढाइसक्यो ।  एन्फाले शहिद स्मारक लिग समेत फागनुबाट गर्ने भएकाले बुढासुब्बा सहित मोफसलका प्रतियोगिता प्रभावित बनेका छन् । भद्रपुरले लिग भन्दा अघि फागुन ७ गतेबाट प्रतियोगिताको मिती तय गरेको छ । बुढासुब्बा गोल्डकप आयोजक समितिका महासचिव प्रताप तामाङ प्रदेश सरकार र राखेपबाट पाउनुपर्ने रकम नपाएपछि पुरस्कार दिन नसकेको बताउँछन् ।

‘राखेपबाट ५ लाख आउथ्यो कोभिडका कारण बन्द खुल्ने वितिकै आर्थिक बर्ष परिर्वतन भएकाले फ्रिज भयो । राखेप सदस्य सचिव रमेश सिलबालसंग कुरा राख्दा अर्को साल १० लाख दिने भन्नुभएको थियो उहाँ गएपछि सकियो । मुख्यमन्त्री शेरधन राई आफै फाइनल खेलमा आउनुभएको थियो १० लाख दिने भनेकोमा ५ लाख निर्णय भएको रहेछ त्यो पनि पाएका छैनौ ।’ उनले भने ‘ अब हामीले मनाङलाई साढे ७ लाख र पुलिसलाई ५ लाख दिन बाँकी छ । वक्यौता रकम तिरेर मात्र यस बर्ष प्रतियोगिता गर्छौ ।’ वक्यौता पुरस्कार कहिलेसम्ममा दिनुहुन्छ ? भन्ने प्रश्नमा तामाङ आर्थिक व्यवस्थापनका लागि दौडधुप र छलफल भइरहेको बताउँछन् । ‘ तपाईसंग सम्पर्क हूँदा पनि हामी छलफलमै थियौ । आर्थिक व्यवस्थापनका लागि हाम्रो दौडधुप जारी नै छ ।’

तामाङ भनाईलाई आधार मान्ने हो भने धरान उपमहानगरपालिकाले पुरस्कार राशी मात्र दिने भएकाले २०७८ को प्रतियोगिता संचालन हुन नसकेको हो ।  ‘धरान उपमहानगरपालिकाबाट ऋण तिर्ने सम्बन्धमा उहाँ (तिलक राई) को सम्वोधन भएन् । खाली पुरस्कार राशीमात्र दिने भयो ।’ तामाङले भने

पुरस्कार पाएपछि रनिङ शिल्ड फिर्ता हुन्छ : अध्यक्ष घले

बुढासुब्बाको २ दशक लामो इतिहास बोकेको रनिङ शिल्ड समेत आयोजकसंग छैन् । २२ औ संस्करणको विजेता मनाङले पुरस्कार नपाएपछि धरानको सान फिर्ता गरेको छैन् । मनाङका अध्यक्ष बिजय घले पुरस्कार दिने सहमती भएकाले पुरस्कार राशी पाएपछि स–सम्मान शिल्ड फिर्ता गर्ने बताउँछन् ।

‘आयोजकले यथासक्य चाडो पुरस्कार दिन्छौ भन्नुभएको छ । उहाँहरुले वक्यौता दिएपछि हामी स–सम्मान फिर्ता गछौ ।’ उनले भने ‘ आहारारामा धरान विरुद्ध एन्फामा उजुरी गरेपछि उहाँहरु छलफलमा आउनुभएको थियो सकारात्मक कुरा भएको छ ।’ आगामी संस्करणको प्रतियोगिता सहभागिता बारे भने घलेले खुलाएनन् ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफुहरुले पाउनुपर्ने पुरस्कार नपाएको गुनासो गरे  । ‘हामीले पटक पटक सम्पर्क गर्दा रेस्पोन्स नै गर्दैन्  । आलटाल गरिरहेको छ  । प्रतियोगिता गरेपछि पुरस्कार त दिनुपर्छ नी ’ थापाले भने  ।

सम्बन्धित खबर