ePurwa

१०८ नेपाली कवितालाई उर्दु भाषामा अनुवाद गरि पाकिस्तानमा कविता संग्रह सार्वजनिक


बुधवार, पौष २७, २०७९

काठमाडाैं । पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले ‘नेपालकी आवाज’ नाममा मुर्धन्य नेपाली कवि कवियत्रीका प्रतिनिधि कविताको उर्दुमा अनुवाद संग्रह प्रकाशन गरेको छ।

धरणीधर कोइरालादेखि नवराज लम्सालसम्मका कविहरूको १०८ कवितालाई उर्दु भाषामा जिया-उल-मुस्तफा तुर्क, सैयद कासिफ रजा, मुनिर फैयाजले अनुवाद गरेका हुन्।

‘धरणीधर कोइराला-नेपाल, महानन्द सापकोटा-अब, लेखनाथ पौड्याल- पिंजराको सुगा, गोपालप्रसाद रिमाल-आमाको सपना, सिद्धिचरण श्रेष्ठ-आफ्नो परिचय, भवानी भिक्षु-दुःखको कथा, केदारमान व्यथित-चंगा, माधवप्रसाद घिमिरे-काली गण्डकी, विजय मल्ल-छोरीलाई नक्सा पढाउदा, भीमनिधि तिवारी-जाग एसिया जाग, मोहन कोईराला, सारंङ्गी, जगदीश शम्सेर राणा-केटी शहर जान्छे, पारिजात-वरको रुख, भूपी शेरचन- मोमवत्तिको शिखा, इश्वर वल्लभ-क्रुर विचारको कथा, वाशु शशी-एउटा यस्तो फूल चाहिएको छ, द्वारिकालाल श्रेष्ठ-यि ऑखाले खोजेका, वैरागी काइला-विवाहित महिला कामदारको डायरी, रत्न शम्सेर थापा-एक अन्यहीन यात्रा, कृष्णभक्त श्रेष्ठ-मेरो पिढी, तुलसी दिवस-बलेको दियोको तल, कालीप्रसाद रिजाल-मेरो इच्छा, हरिभक्त कटुवाल-यो जिन्दगी खै के जिन्दगी, उपेन्द्र श्रेष्ठ-अध्यारो र उज्यालोको कथा, भवानी घिमिरे-असल विचार, कुन्दन शर्मा-एउटा लामो बाटो, मदन रेग्मी-तिमि समुन्द्रको नजिक र टाढा, विमल कोईराला-फल मुन्तिया, एसपी कोईराला -शुरुआत, हरि अधिकारी-अधिकारको पूजा, पुरुषोत्तम सुवेदी-लडाइको पक्षमा, व्याकुल माइला-काठमाण्डुमा हुने परिवर्तन, दिनेश अधिकारी-जाती, नवराज लम्साल-हरसालको एक उच्च हल्ला खल्ला, मोमिला-आफ्नो राष्ट्रिय मौन आवाजमा’ आदि १०८ वटा कविताको उर्दु भाषामा अनुवाद भएको हो।

बाहिरी आवरण सहित ३८५ पृष्ठको यो कविता संग्रहको अनुवादमा पछिल्ला १०० वर्षमा लेखिएका नेपालका मुर्धन्य साहित्यकारका कविताहरू समेटिएका छन्।

पाकिस्तानको राष्ट्र भाषामा नेपालका कवि कवियत्रीका रचना प्रकाशन हुँदा नेपाली साहित्यकारको रचना र पहिचान विस्तार हुने र पाकिस्तानी साहित्यकारलाई नेपाली साहित्यको स्वाद पस्किने अवसर हो।

यसका साथै दुई मित्र देशबीच साहित्यका माध्यमबाट सहयोग अदान-प्रदान हुने एवम द्वैपक्षीय समझदारी वृद्धिमा समेत मद्दत मिल्ने देखिन्छ। उक्त कविताको अनुवाद प्रकाशनको कार्यमा नेपाली राजदूतावास, इस्लामाबादले सहजिकरण गरेको पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले जानकारी दिए।

सम्बन्धित खबर