ePurwa

झापामा कनकाई माई मेला आजबाट सुरु


शनिवार, पौष ३०, २०७९

सुरुंगा । परम्परागतरुपमा कनकाई माईको किनारमा लाग्दै आइरहेको मकर (माई) मेला शुक्रबार आजदेखि सुरु भएको छ । धार्मिकरुपमा लाग्दै आएको मकर मेलाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका हुन् । मेला माघ २ गतेसम्म लाग्ने आयोजक समितिका अध्यक्ष श्यामकुमार राईले बताएका छन् ।

मकर स्नान गरेर तिलको लड्डु, तरुल लगायातका खाद्य परिकार सेवन गर्दै तिलको आगो ताप्नाले पाप कर्मबाट मुक्ति मिल्ने र कनकाई माईमा स्नान गर्नाले छालाको रोगसमेत निको हुने जनविश्वास रहिआएको छ ।

कनकाई माईको दुबै किनारमा लाग्ने मेलामा मेला भर्नका लागि नेपाल तथा भारतबाट समेत हजारौको सङ्ख्यामा भक्तजनहरु आउने गर्दछन् । मकर मेला माघ १ गतेको मकर संग्रान्तिका दिन विशेषरुपमा लाग्दै आइरहेको छ भने मेलामा खेल तमासा र विभिन्न खाद्यान्न परिकारहरुको स्टल राखिएको मेला आयोजक समितिका अध्यक्ष राईले बताए ।

 

 

मेला उदघाटन कार्यक्रममा कनकाई ४ का वडाअध्यक्ष रोषन सुवेदी, ३ का वडाअध्यक्ष युवराज चम्लगाई, एमालेका नगर अध्यक्ष खडग प्रसाई, कांग्रेसका नगर सभापति दुर्गा प्रसाई, माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, राप्रपाका इन्द्र रोक्का लगायातले मेलाको पौराणिक र मनोरन्जनात्मक पक्षका बारेमा आफ्ना भनाइ राखेका थिए ।

सम्बन्धित खबर