ePurwa

अब सीता एयरले भद्रपुर–ताप्लेजुङ उडान भर्ने


मङ्गलवार, माघ ३, २०७९

झापा । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौं–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो ।

सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुईपटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताउनुभयो । उहाँका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौँका लागि दुईपटक उडान हुनेछ ।

यस्तै हप्ताको चारपटक काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गरिरहेको निमगको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ–विराटनगर उडान गर्ने तयारी गरिहेको ‘स्टेशन इन्चार्ज’ लोकेन्द्र हाङ्गाम लिम्बूले बताउनुभयो ।

प्रदेश नं १ को राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ–विराटनगर उडान गर्ने तालिका बनिरहेको उहाँले जानकारी दिनुभयो । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल वायु सेवा निमगको ट्वीनअटर जहाजले उडान भर्ने तालिकासँगै ताप्लेजुङ–विराटनगरको उडान तालिका पनि तय हुने उहाँको भनाइ छ ।

यस पहिले सीता एयरले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएकामा वर्षायामको सिजनमा भिजिबिलिटी कम भएका कारण उडान स्थगन भएको थियो । मौसम सफा हुने पर्यटकको चहलपहलसमेत वृद्धि हुने भएकाले उडानलाई निरन्तरता दिइएको बताइएको छ । सीता एयरले ताप्लेजुङबाट भद्रपुरका लागि रु पाँच हजार तीन सय ८५ र काठमाडौँसम्मका लागि रु नौ हजार दुई सय ८५ भाडादर निर्धारण गरिएको इन्चार्ज खड्काले जानकारी दिनुभयो ।

सम्बन्धित खबर