ePurwa

झापामा फस्टाउँदै जडीबुटी खेती


मङ्गलवार, माघ ३, २०७९

चन्द्रकला भण्डारी
झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गर्नुभयो । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाल्नुभयो ।

यसको काँचो घाँस प्रतिकेजी रु २० र सुकेको घाँस रु १०० मा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उहाँले बताउनुभयो । मेचीनगर–१४ दुहागढीमा विसं २०७० मा कुलायन नेचुरल हर्बल प्रालि स्थापना भएपछि चौधरीले जस्तै मेचीनगर, अर्जुनधारा, भद्रपुर र बुद्धशान्ति पालिकाका कृषक तथा सामुदायिक वनहरूले पचौली र लेमनग्रासको खेती ठूलो मात्रामा थालेका हुन् ।

कुलायन नेचुरल हर्बल उद्योग आफैँले पनि ५० बिघा जग्गा भाडामा लिएर उद्योग सञ्चालन र जडीबुटी खेती गरिरहेको छ । कालो हर्दी, युकिलिप्टस (मसला), तेजपत्ता, नगरमोथे, बोझो, भेटिबर, लेमनग्रास, सिट्रोनेला, पामरोजा, पचौलीलगायतका जडीबुटीजन्य वनस्पतिलाई प्रशोधन गरेर उद्योगले सुगन्धित तेल उत्पादन गर्दै आएको छ ।

उद्योगले उत्पादन गरेको सुगन्धित तेल सिधै युरोप र अमेरिका निर्यात हुन्छ । गत वर्ष सरकारले विदेशी मुद्रा भित्र्याउन योगदान पु¥याएवापत उद्योगलाई सम्मान गरेको थियो । उद्योग आफैँले सुरुमा विद्यालयको खाली जग्गा भाडामा लिएर जडीबुटी खेती थालेको थियो । उद्योगले स्थानीय कृषकहरूलाई समेत आम्दानी लिन हौसला बढाएपछि मेचीनगरको वडा नंं १०, १३, १४ र १५ मा धानखेत मासेर किसानले जडीबुटीका बिरुवा रोप्न थालेका हुन् ।

‘थोरै जमिनमा थोरै लगानी गर्दा धेरै आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि मैले पनि सुरुमा दुई बिघामा पचौली रोपेँ’, अर्जुनधाराका डम्बर चौधरीले भन्नुभयो, ‘दुहागढीको हर्बल उद्योगले पचौलीको घाँस किनिदिन्छ । आयस्ता राम्रो हुन थालेकाले खेती विस्तार गरेर पाँच बिघामा लगाएको छु ।’

सामुदायिक वनमा खेती विस्तार

झापाको अर्जुनधाराकै जुकेखाडी सामुदायिक वन र भद्रपुरको कमलधाप सामुदायिक वनले जडीबुटी खेतीमा लगानी गरेका छन् । बीस बिघाबाट सुरु भएको यस्तो खेती अहिले पाँच सय बिघामा विस्तार भइसकेको छ ।

जुकेखाडीले १० बिघा र कमलधापले एक सय बिघा वन क्षेत्रमा लेमनग्रासको खेती गरेको छ । लेमनग्रासको घाँस काटेर उद्योगमा बिक्री गरिँदै आएको छ । जसलाई मेसिनमा पेलेर सुगन्धित तेल उत्पादन गरिन्छ । मेचीनगर–१४ कै बाल सुबोधिनी माध्यमिक विद्यालयको बाँझो रहेको २० बिघा जग्गा वार्षिक रु एक लाख ५० हजार बुझाउने शर्तबन्धमा ४० वर्षका लागि उद्योगले भाडामा लिएर ११ वर्षदेखि खेती गर्दै आएको छ ।

जहाँ मसाला, तेजपत्ता, कालो हर्दी, भेटिबर, नगरमोथे, सिट्रोनेलालगायतका जडीबुटीका रुख र घाँसको जङगल हुर्किसकेको छ । अरु एक सय बिघा जग्गा खेती विस्तारका लागि खोजी गरिरहेको उद्योगका सञ्चालक भरत बस्नेतले बताउनुभयो ।

‘सुरुमा हामीले जग्गा लिजमा लिएर जडीबुटी रोपण ग¥यौँ, अहिले किसानहरू आफँै म पनि खेती लगाउँछु भन्दै आउन थाल्नुभएको छ’, उद्योगी बस्नेतले भन्नुभयो, ‘किसानहरूले जति धेरै उत्पादन गरेता पनि किनिदिने ग्यारेन्टी उद्योगका तर्फबाट गरिदिएका छौँ । खेतीका लागि प्राविधिक र बिरुवा सहयोगसमेत गरिरहेका छौँ ।’

नौ वर्षमा झापाका ६० जनाभन्दा बढी स्थानीय किसान र आधा दर्जन सामुदायिक वन जडीबुटी खेती अभियानमा जोडिनुभएको र पाँच सय बिघाभन्दा बढी जग्गामा यसको खेती फस्टाइरहेको उहाँले जानकारी दिनुभयो ।

महँगो अगरउडको खेतीमा लगानी

हर्बल उद्योगले संसारकै महँगो मानिएको अगरउड (सुगन्धित काठ)को व्यावसायिक उत्पादन गर्ने महत्वाकाङ्क्षी परियोजना सुरु गरेको छ । सञ्चालक बस्नेतका अनुसार हाल उद्योगले दुई हजारवटा सेतोचन्दन (सुगन्धित काठ)को बिरुवा रोपेर हुर्काइरहेको छ । यसले उत्पादन दिन १५ वर्ष कुर्नुपर्छ ।

‘सेतो चन्दन र अगरउडको उत्पादन गर्न सकियो भने महँगोमा अन्तर्राष्ट्रिय बजारमा बेच्न सकिन्छ भनेर हामीले इच्छुक किसानलाई प्रोत्साहित गरिरहेका छौँ’, उद्योगी बस्नेतले भन्नुभयो । उद्योगले किसानलाई बिक्री वितरण गर्नका लागि हाल आफ्नो नर्सरीमा एक लाख अगरउडका बिरुवा हुर्काएको छ । किसानलाई ती बिरुवा दिएर उत्पादन खरिद गर्ने उद्योगले योजना बनाएको छ ।

उहाँका अनुसार भविष्यमा उद्योग आफँैले अगरउडको तेल निकाल्ने अलग्गै कारखाना स्थापना गर्ने सोच बनाएको छ । अगरउडको तेल अन्तर्राष्ट्रिय बजारमा रु तीन लाख प्रतिलिटरका दरले अहिले बिक्री भइरहेको छ । उद्योगमा हाल विभिन्न जडीबुटी पेलेर तेल उत्पादन हुँदै आएको छ । छवटा भेसल भएको उद्योगले आठ घण्टामा एउटा भेसलमा जडीबुटीजन्य काँचो घाँस पाँच सय केजी र सुक्खा घाँस तीन सय केजी प्रशोधन गर्दछ ।

‘सुगन्धित साबुन र अरु केही हर्बल सामान उत्पादकले अलिअलि खरिद गरेर लैजानुहुन्छ’, उद्योगी बस्नेत भन्नुहुन्छ, ‘हामीले उत्पादन गरेको अधिकांश तेल युरोप र अमेरिका निर्यात हुन्छ । विदेशी मुद्रा भित्रिने भएकाले मुलुकलाई पनि फाइदा निकै पुगेको छ ।’

उद्योगले वार्षिक तीन हजार लिटर मसालाको तेल, दुई हजार पाँच सय लिटर लेमनग्रासको तेल, दुई हजार पाँच सय लिटर सिट्रोनेलाको तेल, एक हजार दुई सय लिटर पामरोजाको तेल र आठ सय केजी पचौलीको तेल उत्पादन गर्दै आएको उहाँले जानकारी दिनुभयो । कारखाना र नर्सरीमा गरेर उद्योगमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नेपालको आर्थिक समृद्धि हासिल गर्नका लागि जडीबुटी उद्योगको विकास र विस्तार अनिवार्य रहेको धारणा व्यक्त गर्नुहुन्छ ग्लोबल एग्रो एण्ड नर्सरी प्रालिका सञ्चालक दीपक नेपाल । उहाँले यो उद्योगअन्तर्गत हाल पाँच बिघामा जडीबुटीको नर्सरी व्यवसाय सुरु गर्नुभएको छ ।

बिरुवा सहजै किन्न पाइने र उत्पादनले अरु बालीभन्दा तेब्बर आम्दानी दिने भएकाले झापामा जडीबुटीको खेतीतर्फ मध्यम किसान आकर्षित हुँदै गएको उहाँको भनाइ छ । पाँच बिघाभन्दा धेरै जग्गा भएका किसानले अन्नबाली लगाउन जनशक्ति र लागत धेरै पर्ने भएकाले जडीबुटी खेतीमा धेरै फाइदा देखेको उहाँ बताउनुहुन्छ ।

वातावरणलाई हरियाली राख्ने, जीवनस्तरमा सुधार आउने र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्नका लागि टेवा पु¥याउने क्षेत्र जडीबुटी भएको जनाउँदै उहाँले यसमा सङ्घ, प्रदेश र स्थानीय तहको सरकारले प्रोत्साहन दिनुपर्ने सुझाव राख्नुभयो ।

सम्बन्धित खबर