ePurwa

हुस्सुले सुकेटारको उडान रद्द हुँदा यात्रु मारमा


बिहिवार, माघ ५, २०७९

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारका लागि तय भएको दुई उडान रद्द हुँदा यात्रु मारमा परेका छन् । प्रतिकुल मौसमका कारण नेपाल वायुसेवा निगम र सीता एयरलाइन्सको उडान रद्द हुँदा यात्रु मारमा परेका हुन् ।

दुई उडान रद्द हुँदा ताप्लेजुङदेखि काठमाडौं जान लागेका यात्रु मारमा परेका हुन् । काठमाडौंदेखि ताप्लेजुङ आउन लागेका यात्रु पनि उतै रोकिएका छन् । बुधबार बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको मौसममा सुधार नआउँदा उडान रद्द हुन गएको नेपाल नागरिक उड्डयन प्राधिकरण, सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) अङ्गत यादवले जानकारी दिनुभयो ।

दुवै एयरलाइन्सको उडान समय तालिका बिहान ८ बजेभित्रको रहेको थियो । तर निर्धारित समय तालिकाभन्दा करिब चार घण्टा बढी पर्खँदासमेत मौसममा सुधार नआएपछि उडान रद्द भएको हो ।  नेपाल एयरलाइन्सका लागि बिहान ११ बजेसम्म उडान प्रतीक्षा गरिएको थियो । अन्तिमसम्म पनि मौसममा प्रतिकुलता कायमै रहेपछि उडान रद्द भएको ताप्लेजुङस्थित नेपाल वायुसेवा निगमका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो ।

यस्तै, सीता एयरलाइन्सको उडानका लागि अपराह्न १२ बजेसम्म प्रतीक्षा गरिएको थियो । उक्त समयसम्म पनि मौसममा सुधार नआएपछि उडान रद्द भएको सीता एयरलाइन्सका ताप्लेजुङ प्रतिनिधि श्रीप्रसाद खड्काले जानकारी दिनुभयो । बर्खा मौसमसँगै उडान स्थगन गरेको सीता एयरलाइन्सले लामो समयपछि नियमित सञ्चालन गर्नेगरी बुधबारदेखि उडान सुरु गर्न लागेको थियो । मौसमका कारण सीता एयरलाइन्सको पहिलो उडान नै रद्द हुन पुगेको छ ।

यता, बुधबारको उडान रद्द हुँदा यहाँबाट काठमाडौं जानलाई नेपाल एयरलाइन्सको जहाजका लागि टिकट गरेका आठ जना र सीता एयरलाइन्सको जहाजको टिकट गरेका चार जना यात्रु गन्तव्यमा पुग्न पाएनन् । त्यस्तै, नेपाल एयरलाइन्सको जहाजमा नौ र सीता एयरलाइन्समा १४ जना यात्रु काठमाडौंदेखि ताप्लेजुङ आउन लागेकामा उनीहरू उतै रोकिएका छन् ।

नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्दैआएको छ । उता सीता एयरलाइन्सले पनि सातामा तीन दिन काठमाडौं–ताप्लेजुङ र एक दिन ताप्लेजुङ–भद्रपुर झापा उडान सञ्चालन गर्नेगरी तयारी गरेको जनाएको छ । दुई हजार ४०० मिटरको उचाइमा अवस्थित सुकेटार विमानस्थलमा बाक्लो हुस्सु र कुहिरोसहित मौसम प्रतिकुल हुँदा बेला–बेलामा उडान अवरुद्ध हुनेगरेको छ ।

सम्बन्धित खबर