ePurwa

नेपाल र इजरायलबीच जनस्तरको सम्बन्ध विस्तार हुँदै


बिहिवार, माघ ५, २०७९

काठमाण्डाै । नेपाल र इजरायलबीच पछिल्लो समय जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गएको छ ।  दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता बढ्दै गएको भ्रमण आदानप्रदानले आपसी सम्मान, सद्भाव, विश्वास, सहयोग र समझदारीमा आधारित मैत्रीपूर्ण सम्बन्ध थप सृदृढ हुँदै गएको कूटनीतिक क्षेत्रका जानकारहरूको भनाइ छ ।

नेपाल विश्व सम्बन्ध परिषद्ले हिजाे काठमाण्डाैमा आयोजना गरेको नेपाल–इजरायल सम्बन्ध विषयक अन्तरक्रियामा उहाँहरूले द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई राष्ट्रबीच कृषि, स्वास्थ्य, शिक्षालगायत अन्य धेरै क्षेत्रमा सहयोग र सहकार्य सुदृढ हुँदै गएको बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत हानान गोडर–गोल्डबर्गरले भौगोलिकरूपमा नेपाल र इजरायल टाढा भए पनि दुई देशबीच अनुपम सम्बन्ध रहेको बताउनुभयो । उहाँले दुई देशबीच धेरै विषयमा समानताको सम्बन्ध भएको र पछिल्लो समय दुई देशबीच बढ्दो भ्रमण आदानप्रदानले जनस्तरमा सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्नुभयो ।

राजदूत गोल्डर्गरले द्विपक्षीय सम्बन्धपछि नेपालका तत्कालीन प्रधानमन्त्री विपी कोइराला, राजा महेन्द्र, राजा वीरेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले इजरायलको उच्चस्तरीय भ्रमण गर्नुभएको स्मरण गर्दै इजरायलबाट समेत नेपालमा उच्चस्तरीय भ्रमण हुँदै आएको बताउनुभयो । उहाँले द्विपक्षीय सम्बन्धका विविध विषयमा अन्तर्राष्ट्रिय मञ्चमा समेत दुई देशबीच समन्वय र सहयोग हुँदै आएको जानकारी गराउनुभयो । नेपाल र इजरायलबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

नेपाल–इजरायल पूर्वराजदूत क्लबका अध्यक्ष डा शम्भुराज सिम्खडाले तत्कालीन राजनीतिक नेतृत्वको दूरदर्शीताले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको बताउँदै स्थापनापछि दुई देशबीचको सम्बन्ध निरन्तर रहेको मात्र नभई सुदृढसमेत हुँदै गएको उल्लेख गर्नुभयो ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले कूटनीतिक सम्बन्धलाई निरन्तरता दिएर इजरायलको अस्तित्वलाई मान्यता दिने नेपाल यस क्षेत्रको विगतदेखिको एक मात्र राष्ट्र भएकोमा नेपाली जनताले गर्व गर्दै आएको बताउनुभयो । उहाँले इजरायलले विभिन्न विकास क्षेत्रमा प्रदान गरेको आर्थिक सहयोग, नेपालीलाई तालिम सुविधा, विभिन्न विषयमा छोटो अवधिको छात्रवृत्ति, कृषि व्यवस्थापन, शिक्षालगायतका क्षेत्रमा इजरायली विज्ञहरू उपलब्ध गराएकामा प्रशंसा गर्नुभयो ।

कार्यक्रममा कूटनीतिक क्षेत्रका विज्ञहरूले सरकार र जनस्तर दुवैको सामूहिक प्रयासले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ र नयाँ उचाइ लिने अपेक्षाका साथ नेपाल–इजरायलबीच सम्बन्धमा विविध आयामबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खबर