ePurwa

कांग्रेस जुनसुकै बेला सरकार ढाल्ने क्षमता राख्छ : कोइराला


बुधवार, माघ ११, २०७९

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रतिपक्षी दल भएका कारण कांग्रेससँग जुनसुकै बेला सरकार ढाल्ने र बनाउने क्षमता रहनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस प्रतिपक्षकै भूमिका रहे पनि अवस्था हेरेर सरकार ढाल्ने र बनाउने क्षमता राख्ने उल्लेख गरे । बुधबार नै काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सरकार गिराउने खेलमा लागेको आरोप लगाएका थिए । ओलीको आरोपको प्रतिक्रिया स्वरुप कोइरालाको यस्तो अभिव्यक्ति आएको हो । “कांग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले जुनसुकै बेला सरकार गिराउने र बनाउने क्षमता राख्छ,” कोइरालाले भने, “हामी प्रतिपक्षमा छौं । प्रतिपक्षकै भूमिका हामी खेल्छौं र प्रतिपक्ष भनेको गभर्मेन्ट इन वेटिङ हो । हामी कुनै पनि बेला सरकार गिराउने क्षमता राख्नुपर्छ र हामीले सरकार बनाउनु पर्छ । विश्वमै हुने खेल नै यही हो पार्लियामेन्टको ।”

कोइरालाले राष्ट्रपति चुनावमा सहमति हुने सम्भावना कम रहेको पनि बताए । नेता कोइरालाले आसन्न राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने प्रस्ट पारे । सहमतिको सम्भावना कम रहेको बताउँदै राष्ट्रपतिमा उम्मेदवार दिएर अन्य दलसित छलफल गर्ने उनको भनाइ थियो । राष्ट्रपतिको चुनावका विषयमा माओवादीसहितका दलसित कांग्रेसले छलफल गर्ने नेता कोइरालाले बताए । उनले भने, “राष्ट्रपतिको चुनावमा सहमतिबाट जाने सम्भावना त बहुतै कम देख्छु । तर, कांग्रेसले उम्मेदवारी दिन्छ ।”

व्यवसायी प्रेमप्रसाद आचार्यले असन्तुष्टि व्यक्त गर्दै गरेको आत्मदाहले राज्यमाथि गम्भीर प्रश्न उठाएको चर्चा गरे । घटनाले देशको राजनैतिक, आर्थिक र सांस्कृतिक अवस्थाका विषयमा गम्भीर संकेत गरेको उनले बताए । “यो व्यक्तिगत घटनाजस्तो लिएर अगाडि बढ्यौं भने यो खतरनाक संकेत मैले देखिरहेको छु,” नेता कोइरालाले थपे, “राजनीतिक, आर्थिक, सांस्कृतिक अवस्था कुनै पनि विषयमा हामी ठीक ठाउँबाट हिंडिरहेका छैनौं । त्यसकारण यो जुन घटना भयो अत्यन्त दुःखदायी घटना हो । देख्दा व्यक्तिगत जस्तो लाग्ला । तर, यसले देश कता जाँदैछ भन्ने कुरा देखाउँछ । यसमा राज्य गम्भीर हुनैपर्छ ।”

सम्बन्धित खबर