ePurwa

इलाम–२ मा को बलियो ?, यस्तो छ अंकगणित


शुक्रवार, चैत १६, २०८०

इलाम । आगामी वैशाख १५ गतेका लागि तोकिएको इलाम २ उपनिर्वाचनको माहोल तातिएको छ । दलहरुले आ–आफ्ना उम्मेद्वार घोषणा गर्दै चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको हो ।

गत वर्षको मंसिरमा भएको निर्वाचनमा काँग्रेस–माओवादीसहितको गठबन्धनका विरुद्धमा एमाले एक्लै प्रतिस्पर्धी बनेको थियो । अहिले भने रवि लामिछाने अध्यक्ष रहेको नयाँ पार्टी रास्वपादेखि सिके राउतको जनमतसम्मले सो क्षेत्रमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

सत्ता गठबन्धनमा रहेको एमालेले आफ्नो सोहि क्षेत्रका सांसद रहेका स्व. सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बाबुको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यमा उनकै कान्छा छोरा उम्मेदवार बन्ने भएका हुन् ।

सरकारको नेतृत्व गर्ने माओवादी केन्द्रले पार्टीको केन्द्रीय सदस्य धिरेन्द्र शर्मा (रमण) सहित चार जनाको नाम सिफारिस गरिसकेको छ । माओवादीको पदाधिकारी बैठकले उम्मेद्वारी दिने निर्णय गरेपनि पात्र तय गरिसकेको छैन ।

गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी) ले पनि उम्मेद्वारको टुंगो लगाइसकेको छ । पार्टीले जितबहादुर राईलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलन लिम्बूलाई उम्मेद्वार बनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले इलाम पार्टीका सभापति डम्बर खड्कासहित ६ जनाको नाम सिफारिस गरेको छ । सो पार्टीले अन्तिममा उनै खड्कालाई टिकट दिने सम्भावना रहेको बताइएको छ । पहिचानवादीहरुले पनि प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमलाई उम्मेद्वार तय गरिसकेको छ । सिके राउतको जनमत पार्टीले प्रेमदिप थाम्सुहाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । राप्रपाले पनि आफ्नो उम्मेद्वारको नामावली केन्द्रलाई पठाइसकेको जनाएको छ ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा विजयी भएका संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सोही निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यो उपनिर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । एमालेले विगत लामो समयदेखिको आफ्नो बिरासत जोगाउन बल गरिरहेको छ भने एमालेको किल्ला अहिलेसम्म तोड्न नसकेको काँग्रेस अहिले विजयको चारतारे झण्डा फहराउने दाउमा छ ।

विगतका दुई निर्वाचनमा आफ्नै उम्मेद्वार र आफ्नै पार्टीको चुनाव चिन्हमा मत हाल्न नपाएका माओवादीका कार्यकर्ता आफ्नो उम्मेद्वार बनाएर विजयी हुन नसकेपनि सशक्त प्रतिस्पर्धामा उत्रन चाहन्छन् । नयाँ दलको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा आफ्नो सांसद संख्या १ थप्दै २२ पुर्याउने घोषणा गरिसकेको छ । पहिचानको माग र मुद्दालाई निर्वाचन मार्फत अभिव्यक्त गराउने अभिप्राय बोकेर बसेका पहिचानवादीले आफ्नो जीत सुनिश्चित गर्दै पहिचानको माग र मुद्दालाई अझ सशक्त बनाउन चाहन्छन् । ‘हामीले परिणाम आफ्नो हातमा पार्नेछौं । यो जितले पहिचानवादीको माग र मुद्दालाई सशक्त बनाउने छ,’ पहिचानवादी उम्मेद्वार थेगिमले भन्छन् ।

२०७९ को निर्वाचनमा काँग्रेस इलामका सभापति समेत रहेका खड्का नेम्वाङसँग थोरै मतले हारेका थिए । त्यसबेला नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी भए भने खड्काले २९ हजार ९०६ मत ल्याए । खड्कालाई माओवादी र नेकपा ९एकीकृत समाजवादी०को पनि समर्थन थियो ।

यसपटक सबै पार्टी आ–आफ्नो उम्मेद्वार लिएर चुनावी मैदानमा गएको खण्डमा रास्वपा, एमाले र काँग्रेसबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । तुलनात्मक हिसावले एमालेको संगठन बलियो भएपनि उम्मेद्वार छनौटमा देखिएको असन्तुष्टि र काँग्रेसमा देखिएको आन्तरिक एकता कायम रहे एमालेमाथि दबाब हुनेछ । यसपटक नयाँ सक्तीका रुपमा रास्वपा चुनावी प्रतिस्पार्धामा देखिएकाले त्यसतर्फ पनि मत ढल्कने आँकलन गरिएको छ ।

सो क्षेत्रमा गत निर्वाचनको समानुपातिक मत हेर्दा एमालेको २६ हजार ५६२ छ भने काँग्रेसको २२ हजार ३३३ रहेको छ । माओवादी केन्द्रको समानुपातिक मत ५ हजार १५३ र रास्वपाको ४ हजार ६८६ मत रहेको छ । रास्वपाले प्रत्यक्षतर्फ भने १ हजार ३८० मत मात्रै पाएको थियो । अन्य पार्टीहरुको मत २ हजार भन्दा कम नै रहेको छ । क्षेत्रमा अहिलेम्म घोषणा भएका उम्मेदवार हेर्दा एमालेका सुहाङ पपुलर र विश्वस्त देखिन्छन् । युवाहरुसामू सुहाङ लोकप्रिय रहेको स्थानीय एमाले नेताहरु बताउँछन् । तर, बंश परम्परा थालेको र क्षेत्रमा सक्रिय नेताहरुलाई बाइपास गरेको भन्दै एमालेभित्र पनि असन्तुष्टि देखिएको छ ।

काँग्रेसका उम्मेद्वार (सम्भावित) खड्का भने पुरानै नेता हुन् । उनले सुवास नेम्वाङलाई पराजित गर्न नसकेको बदला छोरा सुहाङबाट लिन चाहन्छन् । तर, गत निर्वाचनमा गठबन्धनबाट पनि जित्न नसकेका उनलाई यस पटक एक्लो प्रतिस्पर्धा सहज छैन ।

नयाँ पार्टीको रुपमा आएको रास्वपाका उम्मेद्वार मिलन लिम्बू चुनाब जित्नेगरि सक्रिय रहेको दावी गर्छन् । रास्वपाको पार्टीगत लोकप्रियता शहरी क्षेत्रमा भएपनि गाउँ–गाउँमा माहोल ल्याएर जित निकाल्न भने सहज छैन । गत निर्वाचनको समानुपातिक मत र प्रत्यक्षमा पाएको मत हेर्दा पनि सो क्षेत्रमा रास्वपाले चुनाब जित्ने अवस्था देखिदैन ।