ePurwa

नक्कली नोट प्रकरणका गिरोह खोज्दै प्रहरी


बुधवार, फागुन २, २०८०

विराटनगर । सुनसरी प्रहरीले आइतबार सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोट बरामद गरेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार नक्कली नोटको धन्दा गर्नेहरु र उनीहरुको कनेक्सनको विषयमा गम्भीर अनुसन्धान सुरु भएको छ ।

प्रहरीले नक्कली नोटसहित भारतको बिहार राज्य सुपौल जिल्ला बीरपुर बस्ने २२ वर्षीया छोटु भन्ने महम्मद शैयद साफी पक्राउ गरेको छ । इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुल नजिकबाट स्कारपियो चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । तर, स्कारपियोमै सवार रहेका अर्का व्यक्ति भने भाग्न सफल भएका छन् ।

प्रहरीले गत असोज महिनामा सुनसरीकै इटहरीबाट १४ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको थियो । २०७९ भदौ २६ गते झापा विर्तामोड नगरपालिका–३ कञ्चनजंघा टोलबाट यातायात कार्यालय जाने–आउने बाटो छेउमा एक महिला ९ हजार रुपैयाँ बराबरको नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेकी थिएन् । पक्राउ पर्ने उनी झापा कन्काइ नगरपालिका १ घर रहेपनि विर्तामोडमा बस्दै आएकी ३० वर्षीया अम्बिका रिमाल हुन् ।

यस्तै प्रहरीले २०७९ असोज २ गते सुनसरीको देवानगञ्ज ४ बाट हरि मेहताले लिएर आएको १ हजार दरका ६ वटा नक्कली नोट पनि बरामद गरेको थियो । प्रहरीले २०८० वैशाख २१ गते १ हजार दरका ६ थान र ५ सय दरका २२ थान नेपाली नक्कली नोट सुनसरीको इटहरीबाट बरामद गरेको थियो । बरामद नोट लिएर आउन सुनसरी गढी गाउँपालिका २ का ३८ वर्षीय महमद जमिल पक्राउ परे । यस्तै प्रहरीले २०७९ फागुन २४ गते उदयपुरको कटारी नगरपालिका १२ बाट ५ सयदरको एउटा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको थियो । विगत दुई वर्षमा भएका यी घटनाहरूले नक्कली नोटको धन्दा लामो समयदेखि चलिरहेको देखाउँछ । विगत वर्षहरुमा पनि नक्कली नोट लिएर आउने बाहकहरु पक्राउ नपरेका होइनन् । तर, अहिलेसम्म नक्कली नोटको संगठित ढंगले कारोबारको धन्दा चलाउने गिरोहको जालो तोड्न भने प्रहरीले सकेको छैन ।

प्रहरीका अनुसार गत आइतबार सुनसरीको इनरुवामा बरामद भएको नक्कली नोटको परिणाम अहिलेसम्मकै ठूलो हो । यसको कनेक्सन खोजिरहेको प्रहरी अधिकारीहरु नै बताउँछन् । ‘भारतीय मानिसहरु पनि संलग्न भएको कारण नक्कली नोटको कारोबारमा अन्तराष्ट्रिय कनेक्सन रहेको भन्नेलाई अप्ठ्यारो भएन,’ एक सुरक्षा अधिकारीले भने ।

अहिले पनि प्रहरी अनुसन्धान र खोजीमा लागिरहेको उनले बताए । ‘अरु केही कुरा दुई चार दिनमा सार्वजनिक हुन्छ । केही मानिसहरुको पहिचान भइसकेको छ । उनीहरुलाई हामी खोजी गरिरहेका छौं,’ उनले भने । नक्कली नोटको कारोबार विगत ५ वर्षयता जारी रहेको प्रहरी स्रोत बताउँछ । सुनसरी प्रहरीका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी अनुसन्धानबाट सबै कुरा खुल्ने बताउँछन् । ‘अहिले विस्तृतमा अनुसन्धान सुरु गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको पाइएको छ,’ उनले भने ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्रकुबेर खापुङले पनि अनुसन्धान गम्भीर ढंगले गरिरहेको बताए । ‘नक्कली नोटको विषयमा हामी गम्भीरतापूर्वक गहिराइमा पुगेर अनुसन्धान गरिरहेका छौं । केही समय पछाडि हामी डिटेल जानकारी गराउँला,’ उनले भने, ‘केही अरू मानिसको पनि संलग्नता देखिएको छ । हामी फलो गरिरहेका छौं । प्रदेशको टोली र हेडक्वाटरको टोलीसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेका छौं । यो गम्भीर खालको इस्यु छ ।’ नक्कली नोटमा एनआइसि एसिया बैंकको स्टिकर लागेको थियो । उक्त स्टिकर लागेकै आधारमा बैंकको संलग्नता नहुने खापुङले बताए । ‘बैंकको संलग्नता नै चाहिं देखिएको छैन,’ उनले भने । नक्कली नोटको कारोबारीबारे विगत देखि नै अनुसन्धानको रूपमा रहेको केस हो । अब पनि प्रहरीले अनुसन्धान गरेर नक्कली नोट कारोबारीको जरोसम्म नपुगे उसको विश्वसनियतामा प्रश्न उठ्ने देखिन्छ ।

सम्बन्धित खबर