ePurwa

ट्यांकरभित्र ६ क्विन्टल गाँजा, चार जना पक्राउ


बुधवार, फागुन २, २०८०

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थित भेडेटार चोकबाट लागूऔषध गाँजा ओसार गर्दै गरेको अवस्थामा ४ जना पक्राउ परेका छन् । पेट्रोलियम पदार्थ ढुवानीमा प्रयोग हुने ट्यांकरभित्र ५९४ किलो गाँजासहित चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ १ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका ७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन् ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायव निरीक्षक जीवनकुमार कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को १ ख ७३२२ नम्बरको डिजेल-पेट्रोल बोक्ने ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङकरको बीचको डिब्बा (केल)भित्र लुकाइछिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याङकरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक कार्कीले जानकारी दिए ।

सम्बन्धित खबर