ePurwa

पाथीभरा मन्दिरमा माघ महिनामा २४ लाख भेटी सङ्कलन


बुधवार, फागुन २, २०८०

झापा । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा माघ महिनामा २४ लाख रुपैयाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार माघ महिनामा मात्र उक्त रकम बराबर भेटी सङ्कलन भएको हो ।

पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम सङ्कलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी रकम विवरणअनुसार माघमा कुल २४ लाख एक हजार ५०० रुपैयाँ सङ्कलन भएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलित उक्त भेटी रकम जिल्लास्थित विभिन्न बैङ्कमा जम्मा गरिएको छ । भेटी रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको हाङ्बाङले जानकारी दिए । यसअघि पुस महिनामा ११ लाखभन्दा बढी अर्थात् ३५ लाख २९ हजार रुपैयाँ भेटी सङ्कलन भएको थियो ।

समितिका अनुसार माघ मसान्तसम्ममा सङ्कलन भएको समेत पाथीभराको कुल भेटी रकम आठ करोड ९४ लाख ५४ हजार ४८ रुपैयाँ भएको छ । पछिल्लो समय पाथीभरा क्षेत्र विकास समितिले प्रत्येक महिना भेटी रकम सार्वजनिक गर्दै आएको छ । पाथीभरामा नेपाली रुपैयाँ मात्र नभई भारतीय रुपैयाँसहित विभिन्न देशका मुद्रा भेटीबापत सङ्कलन हुँदै आएको समितिले जनाएको छ ।

सम्बन्धित खबर