ePurwa

बालेनको स्केच बिक्रीमा !


बुधवार, फागुन २, २०८०

विराटनगर । विराटनगर–२ सम्राट दास दुबै कान कम सुन्छन् । तर, पढाइमा तेज छन । मनपर्ने विषय ‘म्याथ’ हो । योसँगैे चित्रहरु पनि कोर्छन । उनले चित्रका विषयवस्तु भने समाजमा राम्रो काम गर्ने व्यक्तिहरुलाई बनाउने गरेका छन् ।

उनी विराटनगरको लिलिपुट स्कुलमा कक्षा ५ मा पढ्छन् । बुधबार सरस्वती पूजाको दिन, अरु साथीहरुभन्दा सवेरै विद्यालय पुगे । उनीहरुकै सहयोगमा आफूले कोरेका तस्विर हार मिलाएर राखे । स्टल बनाए । अनि सबै तस्बिरमा मूल्य सूची राखे । सबैभन्दा अगाडि कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको तस्बिर थियो । त्यो तस्बिरको मूल्य नौ सय रुपैयाँ तोकिएको थियो । त्यही हारमा काठमाडौ महानगरपालिकाका मेयर बालेन साहको अर्को तस्विर थियो । ती तस्बिर उनले बिक्री गरे । यसबाट आएको पैसा आफ्नै लागि वचत गरी उपचारमा खर्च गर्ने योजना बनाएको बताए । उनीसँगै आमा कल्पना दास पनि उभिएकी थिइन । अरु साथीहरु पनि साथै थिए ।

कल्पनाले भनिन्,“कोसीका मुख्यमन्त्री ज्यूले बाल बालिकाको निःशुल्क उपचार गराउन शुरु गरेको समाचार उनले पढेका रहेछन् । एक दिन आफन्तको घरमा उहाँ आएको बेला भेटघाट पनि गरेका थिए । त्यही भएर उहाँको तस्बिर बनाउने योजना मलाइ सुनाएका थिए ।” पछि मुख्यमन्त्री कार्की र मेयर बालेनको तस्बिर घण्टौं मेहनत गरेर उनले बताएको कल्पनाले सुनाइन । कार्कीले थालेको १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार र बालेनको शैक्षिक अभियानबाट सम्राट प्रभावित बनेको कल्पनाको भनाइ छ । कार्कीले बालबालिका मैत्री परिसरका लागि भन्दै चौर मासेर सर्टर बनाउने विद्यालयलाई प्रदेश सरकारले सहयोग नगर्ने पनि घोषणा गरेका छन् ।

सम्राटले चित्रकारिताको औपचारिक अध्ययन गरेका छैनन् तर युटुव हेरेरै राम्रोसँग बनाउन जानेका छन् । कल्पनाका अनुसार छोराले समाजमा राम्रो काम गर्ने उदाहरणीय व्यक्तिहरुको सूची बनाएर स्केच कोर्ने गर्छन । यसबाहेक मानिसको जीवन, प्रकृति, देवीदेवता र अन्य विषय झल्कले तस्विर पनि बनाउँछन् । विद्यालयका प्राचार्य चिरन्जीवी तिम्सिनाले सम्राटको क्षमतालाइ कदर गर्दै विद्यालय प्रशासनले तस्बिरहरु प्रदर्शनीमा राखिदिएको बताए । “उनमा भएको क्षमतालाई आम मानिसम्म परिचित गराउन हामीले सहयोगीको भूमिका खेलेका हौं,” तिम्सिनाले भने ।

सम्राटले विद्यालयबाट राम्रो सहयोग प्राप्त गरेको र शिक्षकरुले समेत माया गर्ने गरेको सनाए । उनले भने,“आज सरस्वती पूजाको दिन मैले बनाएको चित्र प्रदर्शनीमा राख्न सरहरुले नै सहयोग गर्नुभएको हो ।” सम्राटले बनाएका तस्विर सरस्वती पूजा समारोहमा भाग लिन आएका अभिभावकहरुले खरिद गरिदिएका छन् । ऐच्छिक अंग्रेजीमा स्नातकोत्तर कल्पना पहिले शिक्षिका थिइन तर छोरा सम्राट फरक क्षमताको भएकै कारण उनकै लागि अहिले गृहिणी मात्र छिन् ।

सम्बन्धित खबर