ePurwa

सटर भाडाको विवाद समाधान गर्छु : अमिर खान


शनिवार, फागुन १२, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा अर्जुन मैनालीको नेतृत्वमा रहेको स्वतन्त्र व्यवसायी प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेद्वार बनेका अमीर खानले पछिल्लो समय देखिएको आर्थिक संकटका कारण व्यवसायी मारमा परेको बताएका छन् ।

चुनावी अभियानका क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै उनले आर्थिक मन्दीका कारण व्यापारमा गिरावट आए पनि व्यवसायीले महंगो भाडा तिर्नु परेको बताउंछन् । उनले बिर्तामोड क्षेत्रमा सटरभाडा अत्याधिक बृद्धि भएको उल्लेख गरे । आफुखुसी घर धनीले सटर भाडा बृद्धि गर्दा व्यवसायीलाई यस्तो बिषम परिस्थितिमा झनै समस्या परेको बताउंदै उनले यसलाई नियमन गर्नु पर्ने बताए ।

उनले संघमा निर्वाचित भएको खण्डमा आफ्नो पहिलो प्राथमिकतामा सटर भाडा समायोजन गर्न स्थानीय सरकार सहित सम्बन्धीत सरोकारवालासंग समन्वय गरी पहल गर्ने योजना रहेको बताउंछन् ।

करीब २० बर्षदेखि बिर्तामोडमा मोटरसाइकल ग्यारेज व्यवसाय गर्दै आएका खान सबै अट्टो मेकानीक व्यवसायीको हक र हितकालागि आफु संघमा उम्मेदवार बनेको बताउंछन् ।

साथै उनले स्थानीय सरकारले अट्टो मेकानीकलाई बुट्टाबारी क्षेत्रमा स्थानतरण गर्ने निर्णय गरेको भन्दै त्यसो गर्न नहुने तर्क गर्छन् । यथा स्थानमै अट्टो मेकानीकलाई व्यवसाय सञ्चालन गर्न दिनु पर्ने बताउंछन् ।

खान करीब २० बर्षदेखि बिर्तामोड भद्रपुर रोडमा आशिफ अमीर मोटरसाइकल रि कन्डीशन उ०ड सर्भिसिङ हाउस सञ्चालन गरिरहेका छन् । हाल उनले ६ जनालाई रोजगार प्रदान गरेका छन् ।

२०४१ साल असार ११ गते तत्कालीन अनारमनी ८ बिर्ताबजारमा आमा महमुदा खान र बुबा सदिक खान पैठानका कान्छो छोरोका रुपमा जन्मिएका खानले तत्कालीन अवस्थामा पत्रिकामा दुई चार वटा रेन्च राखेर ग्यारेज सञ्चालन गरेका थिए । लामो समय सम्म मोटरसाइकल वर्कसपमा काम गरेका खानले पछिल्लो समय सस्तो पर्ने बाहनामा अधिकांश नेपालीहरु भारतको पानीट्याङ्कीमा मोटरसाइकल मर्मतकालागि जाने गरेको बताउंछन् । जसका कारण राज्यलाई पनि ठुलो कर नोक्सानी भइरहेको र नेपाली दाजुभाईहरु पनि सस्तो पाउने बाहानामा ठगिंदै आइरहेको भन्दै त्यसलाई रोक्न आफुले पहल गर्ने बताउंछन् ।

उनी अट्टो मेकानीक ट्रेड यूनियन बिर्तामोड नगर उपाध्यक्ष , राप्रपा जिल्ला सदस्य, मदरसा तालिमुल कुरानको सदस्य मुश्लिम युवाको सदस्य लगायतका संस्थामा आबद्ध छन् । मुश्लिम समुदायका अधिकांश ब्यक्तिहरु प्छि परेको भन्दै उनले संघमा पुग्न सके मुश्लिम समुदायका युवाहरुलाई व्यापारमा आकर्षित गर्ने तथा उनीहरुको समस्या हल गर्न पहल गर्ने बताउंछन् ।

उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् । उनले रामनवमी , अर्जुनधारा जलेश्वरधाम सहित बिर्तामोड क्षेत्रमा हुने धार्मिक कार्यक्रममा निशुल्क पानी तथा प्रसाद वितरण गर्ने गर्छन । उनले आफ्नो हैसीयत अनुसार धेरै गरीब तथा दुःखीलाई सहयोग समेत गरेका छन् ।

उनले आफुसहित अर्जुन मैनालीको नेतृत्वमा रहेको स्वतन्त्र ब्यवसायकि प्यानललाई बिजयी गराउन सवै मतदाता व्यवसायीलाई आग्रह गरेका छन् ।

सम्बन्धित खबर