ePurwa

झापा गोल्डकप आजदेखि, उद्घाटन खेलमा सशस्त्र प्रहरी र संकटा भिड्दै


शनिवार, फागुन १९, २०८०

बिर्तामोड ।  अर्ना छैटौं झापा गोल्डकप आजदेखि बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुदैछ । गोल्डकपको पहिलो दिन संकटा र एपीफबीच खेल हुनेछ । गोल्डकपको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्ने छन् । आज औपचारिक उद्घाटन तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गरिएको छ ।

उद्घाटनको क्रममा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको प्रस्तुति रहनेछ । ०७८ पछि हुन लागेको झापा गोल्डको भव्य तयारी सम्पन्न भएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनले सबैको सहयोगबाट गोल्डकप सफल हुने बताएका छन् ।

गोल्डकप हेर्नका लागि बाँसको प्याराफिट तयार गरिएको छ । ११ हजार ३ सय ५० जना गोल्डकप हेर्न मिल्ने गरी प्याराफिट निर्माण सम्पन्न भइसकेको छ । सेमीभन्दा अघि टिकट २ सय , सेमीमा ३ सय र फाइनलमा ४ सय निर्धारण गरिएको छ । फाइनलमा ८० रुपैयाँ बराबरको जुस पाइने बताइएको छ ।

यती बु्रअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, अर्को विभागीय टोली नेपाल पुलिस क्लबले फागुन २० गते ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । उद्घाटन खेलको विजेताले सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वार्टर फाइनल खेल खेल्नेछ ।

त्यस्तै, फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्युरोड टिम (एनआरटी) सँग दोस्रो क्वार्टर फाइनल खेल खेल्नेछ ।

तेस्रो क्वार्टर फाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले दुईपटक ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम क्वार्टर फाइनल खेल फागुन २४ गते झापा ११ एफसीले एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने आयोजक झापा गोल्डकपले जनाएको छ । झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ । गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।