ePurwa

डिफेन्डिङ च्याम्पियन आर्मी झापा गोल्डकपको सेमिफाइनलमा


बुधवार, फागुन २३, २०८०

बिर्तामोड, फागुन २३ । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन् । खेलको ६१औँ मिनेटमा आर्मीले खेल बराबरीमा ल्याएको थियो । स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । ८१औँ मिनेटमा वसन्त जिम्बाले गोल गरेका थिए । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीनजना विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए ।

जितसँगै झापा गोल्ड कपको चारपटकको विजेता आर्मी सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ । पहिलोपटक सहभागी भएको मछिन्द्र क्वार्टर फाइनलबाटै घर फर्किएको छ । पराजयसँगै मछिन्द्र यो सिजनमा उपाधि ह्याट्रिक गर्नबाट बञ्चित भएको छ । मछिन्द्रले लगातार केपी ओली कप र बागमती गोल्ड कपको उपाधि हात पारेको थियो ।

खेलको सातौँ मिनेटमा नवयुगले गोलरक्षकसँग वान टु वानको अवस्थामा गोल गर्न सकेनन् । उनको फितलो प्रहार विपक्षी गोलरक्षक विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । खेल अवधिभर मछिन्द्रले आर्मीमाथि दबाब कायम राखेको थियो । तर, समयमा स्कोर हुन नसक्दा आर्मीसँग पराजय व्यहोर्नु प¥यो ।

खेलको सुरुवातमै मछिन्द्रले आर्मीमाथि दबाब दिन सुरु गरेको थियो । चौथो मिनेटमा मछिन्द्रका विदेशी खेलाडी ओमोलाजा करिमको फ्रिकिकमा विमल घर्तीमगरको हेडर बाहिरियो । पाँचौँ मिनेटमा देवेन्द्र तामाङको हेडर बाहिरिँदा खेलमा अग्रसरता दिन मछिन्द्र असफल भयो । २२ औँ मिनेटमा अभिषेक गुरुङको विमलले गरेको कडा प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाएपछि खेललाई २–० को अग्रता दिलाउने अवसरबाट उनी बञ्चित भए । ८० औँ मिनेटमा गोलरक्षक अगाडि बढेको समयमा आयुष घलानले गरेको प्रहार पोस्टबाट बाहिरियो ।

खेलको प्लेयर अफ दि म्याच आर्मीका वसन्त जिम्बा घोषित भए । उनलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीलगायतले नगद ११ हजार र ट्रफी प्रदान गरे ।

आर्मीका प्रशिक्षक मेघराज केसीले देशका महत्वपूर्ण गोल्ड कपको सूचीमा झापा गोल्ड कप भएकाले यो गोल्डकप गुमाउने चाहना आर्मीले नराखेकोले जित्ने रणनीतिका साथ मैदानमा उत्रिएर सफल हुन सकेको प्रतिक्रिया दिए । पछिल्लो चरणमा आर्मीले नयाँ र पुराना खेलाडीलाई मिश्रण गरेर खेलाउने गरेको भन्दै उनले नयाँ र पुरानो खेलाडीबीचमा तालमेल मिल्दा जित सम्भव भएको बताए । मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि मिडफिल्ड र डिफेन्डरको सानो गल्तीका कारण खेलमा पराजय भएको बताए ।

१० टोली सहभागी गोल्ड कपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ । १ करोड ४० लाख खर्च हुने अनुमान गरिएको गोल्ड कपमा झापा ११ एफसीले बिहीबार एन्फा मकवानपुरसँग अन्तिम क्वार्टर फाइनल खेल खेल्नेछ ।