ePurwa

छैठौं झापा गोल्डकपको उपाधिका लागि एपीएफ र चर्च ब्वाईज भिड्दै


सोमवार, फागुन २८, २०८०

झापा । छैठौं झापा गोल्डकपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड आम्ने साम्ने हुदैछन् । फाइनल खेल दिउँसो ३ बजे बिर्तामोडस्थित डोमालाला राजवंशी रंगशालामा हुनेछ ।

पहिलो पटक झापा गोल्डकपको उपाधि भिड्न्तमा पुगेका दुवै टिमले नतिजा आफ्नो पक्षमा पार्ने दाबी गरेका छन् । चर्च ब्वाइजले आफ्नो टिम लयमा रहेकाले उपाधि जित्ने दाबी गरेको छ भने एपिएफले आफ्नो विदेशी खेलाडीसहितको आफ्नो सेट पनि कमजोर नरहेको दाबी गरेको छ । चर्च ब्वाईजका टिम कप्तान दीप कार्की र कोच रोबिन राईले टिम फममा रहेकाले फाइनलको उपाधि हात पार्ने दाबी गरे । एपीएफका टिम म्यानेजर सुशिल अधिकारी र कप्तान हरि कार्कीले पनि उपाधि आफ्नो टिम अहिले योग्य रहेको जिकिर गरे ।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।

बिभागीय टोली एपीएफले झापा गोल्ड कपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा ए डिभिजनको संकटा युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनलमा एपीएफले स्थान सुरक्षित गरेको थियो । क्वाटरफाइनलमा पनि एपीएपले टाइब्रेकरको सहारा लिनु परेको थियो । सर्लाहीको बागमती युथ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराउँदै एपीएफ पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पहिलो पटक सहभागी भएको चर्च ब्वाइजको यात्रा भने प्रतियोगितामा उत्साहजनक रहयो ।

चर्च ब्वाइजले पहिलो खेलमै नेपाल पुलिस क्लबलाई २–० को हार चखायो । चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब एनआरटीमाथी १–० को नतिजा निकाल्यो । सेमिफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै चर्च ब्वाइजले फाइनलमा स्थान पक्का गरेको हो ।

झापा गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले सात लाख रुपैयाँ पाउनेछ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने बताइएको छ । गोल्डकप गत फागुन १९ गतेबाट शुरु भएको थियो ।