ePurwa

विराट गोल्डकप आजदेखि, भुटान र नेपाल पुलिस भिड्दै


बिहिवार, चैत १५, २०८०

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आज बिहीबारबाट सुरू हुँदैछ । विराटनगरको सहिद रंगशालामा फ्लड लाइटको सहारामा रात्रिकालीन गोल्डकप सञ्चालन गरिने छ । प्रतियोगिताको उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) बीच हुनेछ । दुवै टोली प्रतियोगिताको पूर्व विजेतासमेत हुन् ।

विभागीय पुलिस क्लबले तीन पटक उपाधि जितेको छ । भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि जितेको थियो ।आयोजकले सार्वजानिक गरेको खेल तालिका अनुसार गोल्डकपमा घरेलु टोली सांग्रीला मोरङ फुटबल क्बल र पाहुना टिम भारतको सिक्किम डे«गानलाई बाइ दिएर क्वाटर फाइनलमा राखेको छ । समूह ‘ए’ बाट १७ चैतमा घरेलु टिमले समूह उद्घाटन खेलमा बिजेता हुने टिमसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ । १८ चैतमा हुने दोस्रो क्वाटर फाइनलमा विभागीय टिम त्रिभूवन आर्मी फुटबल क्बल र एनआरटी फुटबल क्लब काठमाडौंबीच शुक्रबार हुने बिजेता टिमसँग बाई पाएर समूह बी बाट भारतको सिक्किम डे«गानले प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको छ । समूह ‘बि’ मा भारतको सिक्किम ड्रेगान, त्रिभुवन आर्मी फुटबल क्लब, एनआरटी, मच्छिन्द्र फुटबल क्लब र कोलकत्ताको साउर्थन समिति एफसि रहेका छन् ।

चैत १५ देखि २४ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक विराट गोल्ड कप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी हुने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए ।

गोल्डकप ट्रष्टले गत वर्षको भन्दा यस वर्षको पुरस्कार राशि झण्डै आधा घटाएको छ । विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको विजतालाई नगद २० लाख १५ हजार र उपबिजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । यो वर्ष विजेतालाई ९ लाख १५ हजार र उपविजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएको हो । गत वर्षको गोल्डकपमा आयोजकलाई ८७ लाख १ हजार ४८ रुपैयाँ घाटा भएको थियो ।

उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ण खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ ।साझको ६ बजे बजेदेखि सुरू हुने गोल्डकपको २००, ३०० र ५०० रूपैयाँ टिकट दर तोकिएको छ । प्रतियोगिता सम्पन्न गर्दा १ करोड १८ लाख ४३ हजार २०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

गतवर्षको सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जित्दा पाहुना टोली भारत केरलाको लुका सकर क्लब उपविजेता बनेको थियो ।