ePurwa

किन भयो सुनसरीको हरिनगरामा हिन्दु मुस्लिम द्वन्द्व


शुक्रवार, चैत २३, २०८०

इटहरी । सुनसरीको हरिनगरा हिन्दु मुस्लिम द्वन्द्वले आज दिउँसो तनावग्रस्त भयो । फेसबुक पोस्ट मार्फत सुरु भएको विवाद चर्किँदै गएपछि द्वन्द्व बढेको हो ।

स्थानीय जीवन मेहताले हिन्दु माथि गाली गर्ने बेधर्मीहरूको कुरान जलाउनुपर्ने भन्दै टिप्पणी गरेपछि विवाद चुलिएको हो । मेहता बिहीबार बहिनिलाई स्कुलबाट लिन श्री बालकृष्ण मावि हरिनगरा १ भुटाहा पुग्दा सोही विषयलाई लिएर निर्घात कुटपिट भएको हो । हाल मेहताको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

मेहतालाई कुटपिट गरेपछि शुक्रवार हिन्दु समर्थित दस्ता बजरङ्ग दल र हिन्दु सम्राट् सेनाले मुस्लिम प्रति आक्रमण अगाडि बढाएको हो । बिहानैदेखि सुरु भएको दुई पक्षीय विवादले द्वन्द्वको रूप लिएको हो ।

झडपको क्रममा पुरानो हरिनगरा गाउँपालिकाको कार्यालयमा क्षति पुगेको छ । प्रहरीले झडप नियन्त्रणमा लिन हवाई फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपिन रेग्मीले भीडलाई तितरबितर पार्नका लागि हवाई फायर गरिएको बताए । स्थलगत रूपमा प्रहरी परिचालन भएकाले कति राउन्ड हवाई फायर गरिएको भन्ने यकिन नभएको उनको भनाइ छ ।

भीड एकदमै अनियन्त्रित भएकाले हवाई फायर र अश्रुग्याँस प्रयोग गरिएको रेग्मीले जानकारी दिए ।

यसैवीच, जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ ।

कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी सूचनामा इनरुवा नगरपालिका, हरिनगर, देवागञ्ज, झोक्राहा नरसिंह र कोशी गाउँपालिकामा आज अपराह्न ५ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको जनाइएको छ ।

कार्यालयले जारी गरेको सूचनामा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ ।

यहाँका स्थानीय समुदायका दुई पक्षबीच झडप भई तनावपूर्ण स्थिति सृजना भएपछि शान्ति सुरक्षा कायम गर्ने हेतुले सो सूचना जारी गरिएको बताइएको छ ।

सम्बन्धित खबर