ePurwa

आठौं विराट गोल्डकप उपाधिका लागि मच्छिन्द्र र मोरङ भिड्दै


शनिवार, चैत २४, २०८०

विराटनगर । विराटनगरका सहिद रंगशालामा शनिबार (आज) विराट गोल्डकप फुटबलको फाइनल खेल हुँदैछ । यो विराट गोल्डकपको आठौं संस्करण हो । गोल्डकपको फाइनलमा मछिन्द्र एफसी काठमाडौं र घरेलु टिम सांग्रीला मोरङ एफए प्रतिस्पर्धा गर्दैछन् ।

शनिबार राती ६ः४५ बजेदेखि सुरु हुने प्रतिस्पर्धाबाट दुवै टिमले श्रेष्ठता हासिल गर्ने दाबी गरेका छन् । गोल्डकपमा मच्छिन्द्र पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ । घरेलु टिमले २०१९ सालमा मोरङ ११ को नामबाट उपाधि हात पारेको थियो भने गत वर्ष सम्पन्न गोल्डकपको सातौं संस्करणमा विराटनगर सिटीको नाममा उपाधि जितेको थियो ।

इटहरी गोल्डकपको च्यम्पियन बनेको एपीएफ र पाहुना टोली भुटानको आरटिसी एफसीलाई हराउँदै यो पटक सांग्रीला विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । सांग्रीलाले क्वाटरफाइलनमा भुटानको आरटिसिलाई ३–० गोलले र सेमिफाइनलमा एपीएफलाई सडनडेथमा ४–३ गोलले हराएको थियो । दुवै सशक्त टिमलाई पराजित गरेको सांग्रीलाका खेलाडीका आत्मविश्वास दह्रो देखिएको उक्त टिमका प्रशिक्षक बताउँछन् ।

सांग्रीलाका प्रशिक्षक रानु रानामगरले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘मच्छिन्द्र राम्रो टिम हो । अनुभवी खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौं,’ उनले भने, ‘हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’ सांग्रीलाले ४–४–२ को रणनीतिमा खेल्ने बताए । अधिकांश ‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडी समेट्नुका साथै राम्रो तालमेल भएकाले च्याम्पियन बन्नेमा ढुक्क रहेको उनले बताए ।

सांग्रीलाका कप्तान अभिषेक लिम्बूले होम ग्राउण्डमा घरेलु दर्शकको साथ सहयोग र हामीले उत्कृष्ट खेल प्रदर्शन गर्ने भएकाले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे । ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशावादी छौं,’ उनले भने, ‘अघिल्ला खेलको कमीकमजोरी सुधारेर प्रदर्शन गर्ने र च्याम्पियन बनेरै छाड्नेछौं ।’

उता मछिन्द्र भने पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने दाउमा छ । विराट गोल्डकपको यसअघिका कुनै पनि प्रतियोगिताबाट मच्छिन्द्र फाइनलमा पुगेको थिएन । मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आठौं संस्करणको विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सँगै सिजनको तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्यको साथ खेलाडी मैदान उत्रिनेछन्,’ उनले भने, ‘यसअघि केपी ओली कप र बाग्मती गोल्डकपको उपाधि जितिसकेका छौं ।’ यो सिजनमा तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएर आएको उनले बताए । ‘उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने,’ दुई लक्ष्य लिएका आएका थियौं । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को शनिबार हुन्छ ।’ उनले खेलको सुरुवातदेखि आक्रमण रणनीतिमा खेलाडी मैदानमा उत्रिने बताए । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पहिलो पटक फाइनल पुगेकाले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको उनले सुनाए । नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाइ छ । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने ।

गत चैत १५ गतेदेखि २४ गतेसम्म संचालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिम सहभागी थिए । गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ ।

सम्बन्धित खबर