ePurwa

मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकिकृत कारोबार आजबाट


बुधवार, पौष २७, २०७९

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले बुधबारबाट ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरू गर्ने भएका छन्।

यी दुई बैंक एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार सुरू हुन लागेको हो । दुवै बैंकको पुस ७ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका हुन् । नेपाल राष्ट्र बैंकले यी दुई बैंकलाई पुस १७ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको एक सय कित्ता शेयर बराबर मेगाको ९० कित्ताको अनुपातमा यी दुई बैंक एक भएका हुन । मर्जरपछि पनि इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे नै अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पनि सोही बैंकका ज्योतिप्रकाश पाँडे रहेका छन् ।

दुई बैंक एक भएपछि चुक्ता पूँजी ३२ अर्ब रुपैयाँ पुगेको छ भने कुल पूँजी ५८ अर्ब पुगेको छ । यस्तै, कुल निक्षेप तीन खर्ब ६० अर्ब र कुल कर्जा प्रवाह ३ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ । देशभर २९६ वटा शाखा रहेको यो बैंकको ग्राहक संख्या ३० लाख रहेको जनाइएको छ । यसै महिना मर्जर पूरा गरी एकीकृत कारोबार सुरू गर्ने यो चौथो बैंक हो ।

मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान दरबारमार्गमा रहने छ ।

सम्बन्धित खबर